दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आजदेखि सुरु हुँदैछन्। प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि आजदेखि विभिन्न ६ खेलमा प्रतिस्पर्धा सुरु हुन लागेको हो। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीसहितका खेलहरू आजदेखि सञ्चालन हुनेछन्। प्रतियोगितामा सहभागी हुन विभिन्न प्रदेशका खेलाडीहरू वीरेन्द्रनगर पुग्ने क्रम जारी छ। प्रतियोगिताका लागि सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोली सहभागी हुँदैछन्। प्रतियोगितामा कुल ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। खेलाडीहरूले विभिन्न विधामा गरी एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ। यसअघि राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेतालाई मात्रै नगद पुरस्कार दिइने व्यवस्था थियो। नयाँ व्यवस्थाले खेलाडीलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
सुर्खेतमा २३ खेल, पाँच जिल्लामा खेलकुद नहुने
दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुने निश्चित भएको छ। सुर्खेतमा एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रो खेल सञ्चालन हुनेछन्।
त्यस्तै, बर्दियामा टेनिस र खोखो, सल्यानमा जुडो र कुस्ती, पश्चिम रुकुममा शारीरिक सुगठन, दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल तथा नेपालगञ्जमा पौडी र सुटिङ आयोजना हुने तय भएको छ। कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा भने कुनै पनि खेल आयोजना हुने छैनन्। प्रदेशका अन्य जिल्लामा खेल सञ्चालन गर्ने तयारी गरिएको छ।
मङ्सिर २७ गते समापन
प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुनेछ भने मङ्सिर २७ गते समापन गरिनेछ। उद्घाटनअघि नै खेलहरू सुरु हुन लागेकाले प्रतियोगिताको प्रतिस्पर्धात्मक गतिविधि आजदेखि नै सुरु हुनेछ। कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद आयोजना हुन लागेको यो अवसरले प्रदेशको खेलकुद पूर्वाधार र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। प्रतियोगितामा देशभरका खेलाडी, प्रशिक्षक तथा खेलकुद अधिकारीहरूको सहभागिता रहनेछ।आयोजकले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन आवश्यक तयारी पूरा भएको जनाएको छ। खेलाडीहरूको आगमनसँगै वीरेन्द्रनगरमा खेलकुदको चहलपहल बढेको छ।


