भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू-कमला एक्सप्रेस’को स्वागतका लागि जनकपुरधाममा भव्य तयारी गरिएको छ। धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित सुरु गरिएको यो रेल सेवा मंगलबार बिहान जनकपुरधाम आइपुग्ने निर्धारित समय छ।
भारतको अयोध्या धामबाट सोमबार दिउँसो १२ः३० बजे प्रस्थान गरेको रेल मंगलबार बिहान १० बजे जनकपुरधाम पुग्ने तालिका रहेको छ। रेलको स्वागतका लागि जनकपुरधाममा विभिन्न सांस्कृतिक कार्यक्रम, परम्परागत झाँकी तथा स्वागत समारोह आयोजना गर्ने तयारी गरिएको छ। नयाँ रेल सेवाको उद्घाटन सोमबार भारतको राजधानी नयाँदिल्लीबाट संयुक्त रूपमा गरिएको थियो। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए। उद्घाटनसँगै अयोध्या र जनकपुरधामलाई रेलमार्गबाट जोड्ने नयाँ अध्याय सुरु भएको छ।
६०४ किलोमिटर दूरी पार गर्ने
करिब ६०४ किलोमिटर दूरी पार गर्ने सरयू-कमला एक्सप्रेसले भारतको उत्तर प्रदेश र बिहार हुँदै नेपालको जनकपुरधामलाई जोड्नेछ। धार्मिक पर्यटन, तीर्थयात्रा तथा दुई देशबीचको आवागमनलाई सहज बनाउने अपेक्षासहित रेल सेवा सञ्चालनमा ल्याइएको हो। रेल यात्राका क्रममा भारतका विभिन्न प्रमुख स्टेसनमा रोकिनेछ। निर्धारित तालिकाअनुसार मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रेल रोकिनेछ। यसले भारतका विभिन्न सहरबाट जनकपुरधाम आउने यात्रुका लागि थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ। विशेषगरी धार्मिक तथा सांस्कृतिक भ्रमणका लागि अयोध्या र जनकपुरधाम आउने पर्यटकलाई रेल सेवाले सहयोग पुर्याउने विश्वास गरिएको छ।
अयोध्या भगवान् रामको जन्मभूमिका रूपमा परिचित छ भने जनकपुरधाम माता सीताको जन्मभूमिका रूपमा धार्मिक आस्थाको केन्द्र मानिन्छ। यी दुई धार्मिक स्थललाई रेलमार्गबाट जोड्ने सेवाले रामायण सर्किटको अवधारणालाई थप बल पुर्याउने अपेक्षा गरिएको छ। जनकपुरधाममा रेलको स्वागतका लागि स्थानीय स्तरमा विशेष उत्साह देखिएको छ। परम्परागत झाँकी, सांस्कृतिक प्रस्तुति र स्वागत समारोहमार्फत रेलको स्वागत गर्ने तयारी गरिएको छ। रेलको आगमनलाई नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धको प्रतीकका रूपमा हेरिएको छ।
रेल सेवा सञ्चालनले जनकपुरधामको पर्यटन, होटल व्यवसाय, यातायात तथा स्थानीय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। भारतबाट आउने तीर्थयात्री तथा पर्यटकको सङ्ख्या बढेमा स्थानीय अर्थतन्त्रलाई समेत लाभ पुग्ने विश्वास गरिएको छ।


