सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयरसहित नगद लाभांश प्रदान गर्ने भएको छ । कम्पनीले गत आव २०८२/८३ को मुनाफाबाट १६.८४२१०५२६ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट चुक्ता पुँजीको १६.८४२१०५२६ प्रतिशतका दरले कुल १९ करोड ७९ लाख २० हजार ४२७ रुपैयाँ ७९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै, बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावसमेत गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी ५२औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।
कम्पनीले आगामी पुस २१ गते मंगलबार ५२औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १ देखि २१ गतेसम्म बुक क्लोज बन्द गर्ने निर्णय गरेको छ ।


