भारतको अयोध्याबाट सोमबार प्रस्थान गरेको सरयू–कमला एक्सप्रेस आज बिहान जनकपुरधाम आइपुगेको छ। नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित सुरु गरिएको रेल सेवाको जनकपुरधाममा भव्य स्वागत गरिएको छ।
रेलमा आएका यात्रु तथा भारतीय प्रतिनिधिमण्डललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादवले स्वागत गरेका थिए। रेलको आगमनसँगै जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई रेलमार्गबाट जोड्ने नयाँ अध्याय सुरु भएको छ।
दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अपराह्न संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल सेवाको शुभारम्भ गरेका थिए। अयोध्या रेल्वे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी नयाँ वन्दे भारत एक्सप्रेस रेललाई हरियो झण्डा देखाइएको थियो।
करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म सञ्चालन हुनेछ। रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर तथा स्थानलाई जोड्नेछ।
भारतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी)का अनुसार रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ। नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट प्रस्थान गरी आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ।
त्यसैगरी रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मंगलबार दिउँसो १२ः४० बजे जनकपुरधाम आइपुग्नेछ।
रेलले जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी दिनेछ। ती स्थानबाट यात्रु चढ्न तथा ओर्लन सक्ने व्यवस्था गरिएको छ।
नयाँ रेल सेवाले नेपाल र भारतबीचको धार्मिक पर्यटन तथा सीमापार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ। रामायण परम्परासँग जोडिएका माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई रेलमार्गबाट जोड्दा तीर्थयात्री तथा पर्यटकलाई प्रत्यक्ष लाभ पुग्नेछ।
रेल सेवाले रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवद्र्धन गर्नुका साथै शिक्षा, व्यापार तथा पारिवारिक भेटघाटका लागि सीमापार यात्रा गर्ने यात्रुलाई समेत सहजता प्रदान गर्नेछ।
रेलमार्गले जोड्ने क्षेत्रका होटल, पर्यटन व्यवसाय, स्थानीय व्यापार तथा आतिथ्य क्षेत्रमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ। विशेषगरी जनकपुरधाम र अयोध्यामा धार्मिक पर्यटकको आवागमन बढ्दा स्थानीय व्यवसायले लाभ लिन सक्नेछन्।


