नेपाल राष्ट्र बैंकले अबदेखि प्रत्येक आर्थिक वर्षको मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्ने गरी आवश्यक तयारी अघि बढाएको छ। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा सोमबार भएको छलफलका क्रममा मौद्रिक नीति सार्वजनिक गर्ने मिति साउन १ गते कायम गर्ने सहमति जुटेको हो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने क्रममा यस्तो सहमति भएको हो। समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले सरकारले बजेट सार्वजनिक गर्ने समय निश्चित गरेजस्तै मौद्रिक नीति घोषणाको मिति पनि निश्चित गर्न लागिएको जानकारी दिएका छन्।
उनका अनुसार अब आर्थिक वर्ष सुरु हुने दिन अर्थात् साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्था मिलाउन आवश्यक तयारी गरिनेछ। यसले सरकारको वार्षिक बजेट र राष्ट्र बैंकको मौद्रिक नीतिबीच समयगत समन्वय कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। समितिको बैठकमा वित्तीय क्षेत्रसँग सम्बन्धित अन्य विषयमा समेत छलफल भएको थियो। केही वित्तीय व्यवस्थामा परिमार्जनसहितका प्रस्ताव पारित गरिएको सभापति बुढाथोकीले जानकारी दिए।
राष्ट्र बैंक ऐनको दफा १०० संशोधनमा असहमति
बैठकमा नेपाल राष्ट्र बैंक ऐनको दफा १०० मा रहेको व्यवस्थाबारे बैंकर्स एसोसिएसन तथा विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले उठाएको असन्तुष्टिको विषयले समेत प्राथमिकता पाएको थियो। सभापति बुढाथोकीका अनुसार बैंकरहरूले उक्त दफामा रहेका प्रावधानका कारण सामान्य कारबाहीलाई आधार बनाएर आफूहरूलाई अयोग्य घोषित गर्न सकिने भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले यस व्यवस्थालाई ‘अभिशाप’ को संज्ञा दिँदै संशोधनको माग गरेका छन्। बैंकर्स एसोसिएसन तथा विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले नेपाल राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) सँग सम्बन्धित प्रावधान संशोधन गर्न लिखित तथा मौखिक रूपमा समितिको ध्यानाकर्षण गराएका थिए। तर, बैंकरहरूको माग र सांसदहरूले पेस गरेका संशोधन प्रस्तावका बाबजुद हाल छलफलमा रहेको विधेयकमा दफा १०० संशोधनका लागि खुला नगरिएकाले तत्काल उक्त प्रस्ताव स्वीकार गर्न नसकिएको सभापति बुढाथोकीले स्पष्ट पारे।
कानुनी प्रक्रियाका कारण संशोधनमा कठिनाइ
सभापति बुढाथोकीले प्रतिनिधि सभा नियमावलीको नियम ११३ अनुसार विधेयकमा संशोधन प्रस्ताव पेस गर्दा विधेयकको विषयवस्तु, निहित सिद्धान्त र सम्बन्धित दफासँग मेल खानुपर्ने व्यवस्था रहेको स्मरण गराए। उनले सभामुख, अर्थमन्त्री तथा अन्य सरोकारवालाले समेत यस विषयमा चासो देखाएको उल्लेख गर्दै दफा १०० सम्बन्धी विषयमा थप छलफल आवश्यक रहेको बताए।


