सरकारले मुलुकको आर्थिक गतिविधिमा अवरोध सिर्जना गरिरहेका पुराना तथा असान्दर्भिक कानुन खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । लगानी, व्यापार तथा व्यवसाय सञ्चालनको वातावरण सहज बनाउँदै अर्थतन्त्रलाई अनावश्यक नियमनबाट मुक्त गर्ने उद्देश्यसहित सरकारले १५ वटा ऐन खारेज गर्ने प्रस्ताव अघि सारेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा यस्तो जानकारी दिएका हुन् । ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको दफावार छलफलमा सहभागी हुँदै उनले समयअनुकूल नरहेका कानुनी व्यवस्थाका कारण आर्थिक गतिविधिमा अनावश्यक जटिलता थपिएको बताए ।
उनका अनुसार, नेपालमा नयाँ कानुन निर्माण गर्ने क्रम तीव्र भए पनि पुराना तथा असान्दर्भिक कानुन संशोधन वा खारेज गर्ने अभ्यास कमजोर छ । नयाँ कानुन थपिँदै जाने तर पुराना कानुन यथावत् रहने प्रवृत्तिले एउटै विषयमा फरकफरक कानुनी व्यवस्था कायम हुनुका साथै व्यवसाय सञ्चालनमा दोहोरो नियमन र प्रक्रियागत झन्झट सिर्जना गरेको छ ।
वाग्लेले अत्यधिक नियमनले निजी क्षेत्रको लगानी र आर्थिक गतिविधिलाई निरुत्साहित गर्न सक्ने बताए। नियमन आवश्यक भए पनि त्यसका नाममा नियन्त्रणमुखी व्यवस्था कायम राख्नु उचित नहुने उनको भनाइ छ । एउटा कानुनले आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने र अर्को कानुनले त्यही गतिविधिलाई नियन्त्रण गर्ने अवस्थाले नीतिगत विरोधाभास सिर्जना गरेको उनले उल्लेख गरे ।
उनले विभिन्न अध्ययन तथा प्रतिवेदनले औँल्याएका समस्याका आधारमा १५ वटा ऐन खारेज गर्ने प्रस्ताव ल्याइएको स्पष्ट पारे । कानुनी सुधारका लागि पुनः नयाँ आयोग गठन गरेर अध्ययन गराउनुभन्दा यसअघि नै प्राप्त सुझाव कार्यान्वयन गर्नु उपयुक्त हुने भएकाले सरकारले विधायिकी सुधारको प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।
पुराना कानुनको औचित्यमाथि प्रश्न
अर्थमन्त्री वाग्लेले टिकट टाँस्नेसम्बन्धी पुरानो कानुनी व्यवस्था र कालोबजारीसम्बन्धी ऐनलाई पुनरावलोकन गर्नुपर्ने उदाहरणका रूपमा प्रस्तुत गरे । उपभोक्ता संरक्षणसम्बन्धी नयाँ कानुन कार्यान्वयनमा आइसकेको अवस्थामा समान प्रकृतिका विषय समेट्ने पुराना कानुनको औचित्य नरहेको हुन सक्ने उनले बताए ।
त्यस्तै, प्रविधिको तीव्र विकाससँगै कानुनी व्यवस्था पनि समयसापेक्ष बनाउनुपर्नेमा उनले जोड दिए । विगतको आर्थिक, सामाजिक तथा प्राविधिक परिस्थितिलाई आधार बनाएर निर्माण गरिएका कतिपय कानुन डिजिटल अर्थतन्त्र र कृत्रिम बुद्धिमत्ता (एआई) को वर्तमान युगमा असान्दर्भिक भइसकेको उनको भनाइ छ ।
पुराना कानुनका आवश्यक प्रावधानलाई आधुनिक कानुनमा समेट्दै अनावश्यक र बाधक व्यवस्था हटाउनुपर्ने उनले बताए । नयाँ कानुनबाट कुनै विषयको नियमन भइरहेको अवस्थामा पुरानै कानुनी प्रावधान कायम राख्दा नियामकीय दोहोरोपन बढ्ने र व्यवसाय सञ्चालन थप जटिल बन्ने उनको तर्क छ ।
सरकारले प्रस्ताव गरेको कानुनी सुधारबाट लगानीमैत्री वातावरण निर्माण, व्यापार व्यवसायको लागत न्यूनीकरण र आर्थिक गतिविधिमा सहजता आउने अपेक्षा गरेको छ । यद्यपि, प्रस्तावित १५ ऐन खारेज हुने वा नहुने विषयको अन्तिम निर्णय संसदीय प्रक्रियाबाट हुनेछ ।


