नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे सुरु हुने बैठकमा संगठन सुदृढीकरण, विपद्पछिको पुनःस्थापना र आगामी स्थानीय निर्वाचनलगायत विषयमा छलफल हुने भएको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको प्रस्तावित कार्यसूचीका आधारमा छलफल अघि बढाइनेछ । बैठक पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा सञ्चालन हुनेछ ।
मंगलबारदेखि सुरु भएको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक अवस्था र त्यसप्रति पार्टीको धारणा प्रस्तुत गरेका थिए । महामन्त्री पौडेलले संगठनको आगामी कार्यभारसहित विभिन्न विषय समेटिएको कार्यसूची पेस गरेका थिए ।
आजको बैठकमा संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने विषयले प्राथमिकता पाउने बताइएको छ । संगठनको आगामी कार्यभारअन्तर्गत प्रस्ताव गरिएको ‘हामी तयार छौँ’ अभियानबारे छलफल हुनेछ । पार्टीको संगठनात्मक तयारी, कार्यकर्ता परिचालन तथा आगामी राजनीतिक चुनौतीको सामना गर्ने रणनीतिबारे बैठकमा विचारविमर्श हुने अपेक्षा गरिएको छ ।
यसैगरी, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछि प्रभावित नागरिकको पुनःस्थापना तथा पुनःनिर्माणका विषय पनि कार्यसूचीमा समेटिएका छन् । विपद्बाट प्रभावित क्षेत्रको पुनःनिर्माण र नागरिकको जनजीवन सामान्य बनाउने विषयमा पार्टीले लिने पहल तथा भूमिकाबारे छलफल गरिनेछ ।
विस्थापित सुकुमवासीको व्यवस्थापन पनि बैठकको अर्को महत्वपूर्ण एजेन्डा रहेको छ । नागरिकका आधारभूत समस्या, विस्थापनका कारण उत्पन्न चुनौती र तिनको समाधानका उपायबारे छलफल हुने जनाइएको छ ।
त्यस्तै, सरकारका पछिल्ला गतिविधिको समीक्षा गर्दै आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने तयारी छ । निर्वाचनको तयारी, पार्टीको रणनीति र संगठनात्मक अवस्थाबारे प्रारम्भिक धारणा बनाउने विषयमा बैठक केन्द्रित हुने देखिएको छ ।


