हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन (आईपीओ) गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई लक्षित गर्दै ३४ लाख ६४ हजार ५०० कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरी बाँडफाँड गरिसकेको छ ।
अब सर्वसाधारणका लागि खुला हुने आईपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन सकिनेछ । यसअनुसार लगानीकर्ताले न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्म लगानी गर्न सक्नेछन् । कम्पनीले मंसिर २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस ३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।
पहिलो चरणमा २१ लाख कित्ता बढी सेयर बाँडफाँड
हिम पर्वत हाइड्रोपावरले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ । त्यसैगरी, सामूहिक लगानी कोषका लागि २ लाख ११ हजार २५० कित्ता सेयर छुट्याइएको थियो । कम्पनीका कर्मचारीका लागि १ लाख २६ हजार ७५० कित्ता सेयर सुरक्षित राखिएको छ । यी सबै समूहका लागि छुट्याइएको सेयर कटाएपछि बाँकी रहेको ३४ करोड ६४ लाख ५० हजार रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई जारी गर्न लागिएको हो ।
न्यूनतम १० कित्ता आवेदन दिनुपर्ने
आईपीओमा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन गर्दा न्यूनतम १ हजार रुपैयाँ र अधिकतम १० लाख रुपैयाँ रकम आवश्यक पर्नेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरेर पनि आईपीओमा आवेदन दिन सकिनेछ ।
इक्राबाट डबल बी प्लस रेटिङ
आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले हिम पर्वत हाइड्रोपावरलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले सम्हालेको छ ।


