Banijya News

चार महिनामै ३७ अर्बभन्दा बढीको कृषि उपज आयात

1
1.0K Shares

कृषिप्रधान देश भए पनि नेपालमा अर्बौं रुपैयाँको कृषि उपज आयात हुने गरेको छ । धान, चामल, गहुँ, आलु, प्याजदेखि फलफूल र तरकारीसम्मको आयात बढ्दा मुलुकबाट ठूलो रकम बाहिरिने गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामै फलफूल, तरकारी र खाद्यान्न आयातमा ३७ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि कात्तिकसम्मको वैदेशिक व्यापार तथ्यांकअनुसार समीक्षा अवधिमा तरकारी तथा कन्दमूलजन्य वस्तु आयातमा १५ अर्ब ९३ करोड रुपैयाँ खर्च भएको छ । त्यस्तै, फलफूल तथा बदामजन्य वस्तु आयातमा १२ अर्ब १७ करोड रुपैयाँ र प्रमुख खाद्यान्न आयातमा ९ अर्ब ७७ करोड रुपैयाँ बाहिरिएको छ ।

यस तथ्यांकले दैनिक उपभोगका आधारभूत कृषि उपजमा समेत नेपालको आयात निर्भरता उच्च रहेको देखाउँछ । मुलुकभित्रै उत्पादन गर्न सकिने वस्तुहरूको ठूलो परिमाणमा आयात हुनुले कृषि उत्पादन र आपूर्तिबीचको अन्तरलाई पनि उजागर गरेको छ ।

खाद्यान्नमा चामल र गहुँको आयात उच्च

खाद्यान्नतर्फ चामल र गहुँको आयातमा ठूलो रकम खर्च भएको छ । चार महिनाको अवधिमा ५३ हजार ४७० टन गहुँ आयात गर्दा २ अर्ब ३६ करोड २७ लाख रुपैयाँ बाहिरिएको छ ।

यसैगरी, १८ हजार ९९ टन बासमती चामल आयातमा २ अर्ब ४५ करोड ८५ लाख रुपैयाँ खर्च भएको छ । अन्य साधारण चामल २६ हजार ५७६ टन आयात गर्दा १ अर्ब ८९ करोड २१ लाख रुपैयाँ बाहिरिएको छ । त्यस्तै, २२ हजार ९०३ टन धान आयातमा १ अर्ब ३ करोड ६५ लाख रुपैयाँ खर्च भएको विभागको तथ्यांक छ ।

धान र चामलको आयातमा मात्रै चार महिनामा ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । यसले आन्तरिक उत्पादनले बजारको माग धान्न नसक्दा खाद्यान्नका लागि समेत विदेशी बजारको भर पर्नुपरेको देखाउँछ ।

आलु र प्याज आयातमै साढे सात अर्ब हाराहारी खर्च

तरकारी तथा कन्दमूलजन्य वस्तुको आयातमा आलु र प्याजको हिस्सा उल्लेख्य छ । समीक्षा अवधिमा १ लाख ७९ हजार ४४२ टन आलु आयात गर्दा ४ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ ।

त्यस्तै, प्याज तथा छ्यापी आयातमा २ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ बाहिरिएको छ । आलु र प्याजको आयातमा मात्रै ७ अर्ब २८ करोड रुपैयाँभन्दा बढी खर्च भएको देखिन्छ ।

दैनिक भान्सामा नियमित प्रयोग हुने यी वस्तुहरूको ठूलो परिमाणमा आयात हुनुले स्वदेशी उत्पादन, भण्डारण र बजार आपूर्ति व्यवस्थापनमा रहेका चुनौतीलाई देखाएको छ ।

प्रोटिनको प्रमुख स्रोत मानिने दाल तथा गेडागुडीको आयातमा पनि ठूलो रकम खर्च भएको छ । चार महिनामा रातो मसुरो दाल आयातमा २ अर्ब २ करोड ९ लाख रुपैयाँ, सुक्खा सिमीमा १ अर्ब ८० करोड ५१ लाख रुपैयाँ र चनामा १ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ बाहिरिएको छ । लसुनको आयातसमेत उल्लेख्य रहेको विभागको तथ्याङ्कले देखाउँछ ।

स्याउ आयातमा साढे चार अर्ब बाहिरियो

फलफूल तथा बदामजन्य वस्तुको आयातमा स्याउ सबैभन्दा अगाडि देखिएको छ । चार महिनामा ३५ हजार ५३१ टन ताजा स्याउ आयात गर्दा ४ अर्ब ४४ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ ।

त्यस्तै, ओखर आयातमा १ अर्ब १५ करोड ७८ लाख रुपैयाँ, सुपारीमा ९० करोड ३४ लाख रुपैयाँ र अनारमा ६९ करोड ४३ लाख रुपैयाँ बाहिरिएको छ । काजु आयातमा ६४ करोड १५ लाख रुपैयाँ र बदाम आयातमा ५३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ ।

नेपालमा विभिन्न प्रकारका फलफूल उत्पादन हुने सम्भावना रहे पनि बजारको मागअनुसार उत्पादन, गुणस्तर, भण्डारण र वितरण प्रणाली विकास हुन नसक्दा आयातमा निर्भरता कायम रहेको देखिन्छ ।

कृषि उत्पादन बढाउने, किसानलाई प्रोत्साहन गर्ने र आयात प्रतिस्थापन गर्ने सरकारी नीति तथा कार्यक्रम सञ्चालनमा रहे पनि आयातको तथ्यांकले अपेक्षित परिणाम हासिल हुन नसकेको संकेत गर्छ । विशेषगरी कृषि उत्पादनको व्यावसायीकरण, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ सुविधा विस्तार, मल तथा बीउको सहज उपलब्धता र शीतभण्डार निर्माणमा पर्याप्त ध्यान दिनुपर्ने देखिन्छ ।

त्यस्तै, उत्पादन भएको कृषि उपजलाई उचित मूल्यमा बजारसम्म पुर्‍याउने व्यवस्था नहुँदा किसानले उत्पादन बढाउन प्रोत्साहन नपाउने समस्या पनि छ । स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने र मौसमी उत्पादनलाई भण्डारण गरी वर्षभरि आपूर्ति गर्ने क्षमता विकास नगरेसम्म आयात निर्भरता घटाउन कठिन हुनेछ ।

कृषिप्रधान मुलुकमा आधारभूत खाद्यान्न, तरकारी र फलफूलका लागि चार महिनामै ३७ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी बाहिरिनुले कृषि क्षेत्रको उत्पादन क्षमता र बजारको मागबीचको खाडल स्पष्ट पारेको छ । यो प्रवृत्ति कायम रहे भान्साको आवश्यकता पूरा गर्न विदेशी बजारमाथिको निर्भरता थप बढ्ने जोखिम देखिन्छ ।

1

Scroll to Top