Banijya News

एमसीसीअन्तर्गतको पाँच जिल्लामा फैलिने ४०० केभी प्रसारण लाइन निर्माण सुरु

1
1.0K Shares

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)ले ४०० केभी क्षमताको लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा विद्युत् प्रसारण लाइन निर्माण सुरु गरेको छ । मंसिर ८ गतेदेखि सिन्धुपाल्चोकबाट निर्माण कार्य अघि बढाइएको हो ।

एमसीए–नेपालका अनुसार ११७ किलोमिटर लामो उक्त प्रसारण लाइनअन्तर्गत ३०३ वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइन काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र मकवानपुर गरी पाँच जिल्लामा विस्तार हुनेछ । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने कुल ३१५ किलोमिटर प्रसारण लाइनमध्ये लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा खण्डले करिब ३७ प्रतिशत हिस्सा ओगट्नेछ ।

४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त यस प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि राष्ट्रिय विद्युत् प्रसारण सञ्जालको क्षमता र विश्वसनीयता बढ्ने अपेक्षा गरिएको छ ।

नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार भइरहे पनि उत्पादित विद्युत् प्रसारणका लागि आवश्यक पूर्वाधारको अभाव चुनौतीका रूपमा रहँदै आएको छ । यस्तो अवस्थामा उच्च क्षमताको प्रसारण लाइन निर्माणले विद्युत् प्रवाह सहज बनाउन सहयोग पुग्नेछ ।

यसबाट आन्तरिक विद्युत् आपूर्ति व्यवस्थापन, औद्योगिक क्षेत्रमा ऊर्जाको उपलब्धता तथा भविष्यमा विद्युत् निर्यात विस्तारका लागि समेत महत्वपूर्ण आधार तयार हुने अपेक्षा गरिएको छ ।

1

Scroll to Top