Banijya News

नागरिक लगानी कोषको पूँजी १० अर्ब पुर्‍याउने प्रस्ताव

1
1.0K Shares

सरकारले नागरिक लगानी कोषको पूँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव अघि सारेको छ । कोषको लगानी क्षमता विस्तार गर्दै निजी इक्विटी, भेन्चर क्यापिटल तथा पूर्वाधारलगायत नयाँ क्षेत्रमा लगानी गर्न सक्ने व्यवस्था मिलाउने उद्देश्यसहित नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ अघि बढाइएको हो ।

प्रतिनिधिसभा अर्थ समितिको बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषको पूँजी, लगानीको क्षेत्र र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव गरिएको जानकारी दिएका हुन् । उनका अनुसार बदलिँदो आर्थिक परिवेशअनुसार कोषलाई आधुनिक वित्तीय उपकरण र नयाँ लगानीका क्षेत्रमा प्रवेश गराउन कानुनी व्यवस्था अद्यावधिक गर्न खोजिएको छ ।

विधेयकमा हाल ८ अर्ब रुपैयाँ रहेको कोषको पूँजी १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ । त्यस्तै, सेयर कित्ता ८ करोडबाट बढाएर १० करोड पुर्‍याउने र चुक्ता पूँजी ३ अर्ब रुपैयाँबाट ६ अर्ब ८० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि समेटिएको अर्थमन्त्री वाग्लेले बताए ।

कोषको लगानी क्षेत्र विस्तार गर्ने क्रममा निजी इक्विटी र भेन्चर क्यापिटलमा समेत लगानी गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसका साथै डिबेन्चर, ऋणपत्र तथा धितोपत्रलगायतका परिभाषा परिमार्जन गरी मुद्दती निक्षेप, सरकारी सुरक्षणपत्र र अन्य वित्तीय उपकरणलाई पनि लगानीको दायरामा समेट्न खोजिएको छ ।

त्यसैगरी कोषको लगानी पूर्वाधार, उत्पादनमूलक क्षेत्र र आवास क्षेत्रमा विस्तार गर्ने सरकारको योजना छ । विशेषगरी मध्यम वर्गको विस्तारलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, रोजगारी, आधुनिक सेवा तथा आवास क्षेत्रमा लगानी बढाउने उद्देश्य राखिएको मन्त्री वाग्लेले बताए ।

उनले मध्यम वर्गको आर्थिक अवस्था सुदृढ बनाउन आवश्यक क्षेत्रमा पूँजी परिचालन गर्नुपर्नेमा जोड दिए । सरकारले निर्वाचनका क्रममा पनि मध्यम वर्गको विस्तारलाई प्रमुख विषय बनाएको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उतार्न नागरिक लगानी कोषजस्ता संस्थाको भूमिका प्रभावकारी बनाउन खोजिएको उनको भनाइ छ ।

विधेयकले कोषको संस्थागत संरचना र व्यवस्थापनमा समेत सुधार गर्ने लक्ष्य राखेको छ । सञ्चालक समिति तथा कार्यकारी व्यवस्थापनको जिम्मेवारी स्पष्ट गर्ने, संस्थागत सुशासन र पारदर्शिता बढाउने तथा जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउने प्रस्ताव गरिएको छ ।

अर्थमन्त्री वाग्लेका अनुसार विधेयकको दफा २ मा कोषको परिभाषा र कार्यक्षेत्र विस्तारसम्बन्धी व्यवस्था गरिएको छ । समग्रमा संशोधनमार्फत कोषको लगानी क्षमता बढाउने, लगानीका नयाँ अवसर सिर्जना गर्ने र वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने सरकारको लक्ष्य रहेको छ ।

1

Scroll to Top