Banijya News

एक महिनाभित्र जरिवाना नतिरे व्यवसाय नै बन्द गर्ने सरकारको चेतावनी

1
1.0K Shares

बजार अनुगमनका क्रममा तोकिएको जरिबाना रकम समयमै दाखिला नगर्ने व्यवसायीमाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएको छ । बजार अनुगमनका क्रममा विभिन्न कसुरमा जरिबाना गरिएका तर हालसम्म रकम नबुझाएका व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानलाई एक महिनाभित्र सरकारी राजस्व खातामा रकम जम्मा गर्न सरकारले निर्देशन दिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जरिबाना तिर्न बाँकी रहेका सबै व्यवसायीलाई यस्तो निर्देशन दिएको हो । विभागले सूचना पहिलोपटक प्रकाशित भएको मितिले एक महिनाभित्र तोकिएको जरिबाना रकम दाखिला गरी त्यसको प्रमाण पेस गर्न भनेको छ ।

विभागका अनुसार उपभोक्ताको हक, हित तथा अधिकार संरक्षण र स्वच्छ एवं प्रतिस्पर्धी बजार व्यवस्थापनका लागि विभाग तथा मातहतका कार्यालयबाट विभिन्न समयमा नियमित र आकस्मिक बजार अनुगमन हुँदै आएको छ । सोही क्रममा प्रचलित कानुनविपरीत व्यवसाय सञ्चालन गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ र ३९ बमोजिम निरीक्षण अधिकृतले सम्बन्धित व्यवसायीलाई तत्काल जरिबाना गरेका थिए ।

तर, जरिवाना गरिएका कतिपय व्यावसायिक फर्म तथा प्रतिष्ठानले हालसम्म पनि सरकारी राजस्व खातामा रकम दाखिला नगरेको र त्यसको प्रमाणसमेत विभागमा पेस नगरेको पाइएको छ । विभागले यसलाई कानुनी दायित्व पूरा नगरेको अवस्थाका रूपमा लिँदै बाँकी रकम तत्काल दाखिला गर्न सचेत गराएको हो ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा (५) र दफा ४०, उपभोक्ता संरक्षण नियमावली, २०७६ को नियम २६ लगायत प्रचलित कानुनी व्यवस्थालाई आधार बनाएको छ । त्यस्तै प्राइभेट फर्म रजिस्ट्रेसन ऐन, २०१४, साझेदारी ऐन, २०२०, कम्पनी ऐन, २०६३, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ र गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०३७ लगायतका कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।

जरिवाना रकम हिमालयन बैंकको नयाँ बानेश्वर शाखामा जम्मा गर्नुपर्ने विभागले स्पष्ट पारेको छ । त्यसका लागि राजस्व शीर्षक नम्बर १४३१२ र कार्यालय कोड नम्बर ३०७०५३५०१ प्रयोग गर्नुपर्नेछ । रकम दाखिला गरेपछि व्यवसायीले सक्कल बैंक भौचर वा रसिदसहित विभागमा अनिवार्य रूपमा जानकारी गराउनुपर्नेछ ।

तोकिएको समयभित्र जरिवाना नबुझाए विभागले तीन चरणमा कडा कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ । पहिलो चरणमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९(५) तथा दफा ४० बमोजिम सम्बन्धित व्यवसाय, पसल वा प्रतिष्ठानमा शिलबन्दी गरी कारोबार तत्काल रोक्का गरिनेछ ।

दोस्रो चरणमा सम्बन्धित व्यावसायिक फर्म वा कम्पनीको दर्ता खारेज गर्न सम्बन्धित निकायमा लेखी पठाइनेछ । प्राइभेट फर्म रजिस्ट्रेसन ऐन, कम्पनी ऐन तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम दर्ता खारेजीको प्रक्रिया अघि बढाउनुका साथै अन्य सरकारी निकायबाट प्राप्त इजाजतपत्र तथा अनुमतिपत्रसमेत निलम्बन वा खारेज गर्न सिफारिस गरिने विभागले जनाएको छ ।

त्यस्तै, तेस्रो चरणमा जरिवाना रकमलाई सरकारी बाँकीसरह असुलउपर गर्ने प्रक्रिया अघि बढाइनेछ । यसका लागि सम्बन्धित मालपोत कार्यालय तथा बैंक तथा वित्तीय संस्थामार्फत व्यवसायीको चलअचल सम्पत्ति र बैंक खाता रोक्का राख्ने प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।

विभागले जरिवाना दाखिला गर्ने प्रक्रिया, राजस्व शीर्षक, कार्यालय कोड तथा बैंक खातासम्बन्धी थप जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट हेर्न आग्रह गरेको छ । सरकारको यो कदमले बजार अनुगमनका क्रममा गरिएका कारबाहीलाई प्रभावकारी बनाउनुका साथै जरिवाना तिर्ने दायित्वबाट उम्किँदै आएका व्यवसायीलाई कानुनी दायरामा ल्याउने अपेक्षा गरिएको छ ।

1

Scroll to Top