नेपाल पुनर्बिमा कम्पनीले आफ्नो चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउन १६.९१ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । नेपाल सरकारबाट एक अर्ब रुपैयाँ थप पुँजी उपलब्ध गराउने तथा हकप्रद सेयर निष्कासन गर्ने स्वीकृति पाएसँगै कम्पनीले पुँजी वृद्धिको प्रक्रिया अघि बढाएको हो ।
कम्पनीको हाल कायम सेयर संरचनामा नेपाल सरकारको ४४.०३९ प्रतिशत स्वामित्व रहेको छ । सरकारको उक्त सेयर स्वामित्व यथावत् राख्ने गरी अन्य सेयरधनीका लागि हकप्रद सेयर निष्कासन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ ।
शुक्रबार (मंसिर ११ गते) बसेको कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्ताव आगामी साधारणसभामा पेस गर्ने निर्णय गरेको छ । साधारणसभाबाट प्रस्ताव पारित भएपछि आवश्यक नियामकीय प्रक्रिया पूरा गरी सेयर निष्कासन गरिनेछ ।
कम्पनीको प्रस्तावअनुसार १६.९१ प्रतिशत हकप्रद सेयर जारी भएपछि विद्यमान सेयरधनीले आफ्नो स्वामित्वअनुसार थप सेयर खरिद गर्न पाउनेछन् । प्रस्ताव पारित भएमा हाल १०० कित्ता सेयर भएका लगानीकर्ताले थप १७ कित्तासम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।
नेपाल बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । सोही नियामकीय व्यवस्थाअनुसार आवश्यक पुँजी जुटाउन कम्पनीले हकप्रद सेयर निष्कासनको बाटो रोजेको हो ।
पुनर्बिमा व्यवसायमा बढ्दो जोखिम, दायित्व तथा प्रतिस्पर्धालाई ध्यानमा राख्दै कम्पनीको पुँजी आधार बलियो बनाउनु आवश्यक रहेको छ । पुँजी वृद्धि भएपछि कम्पनीको वित्तीय क्षमता अभिवृद्धि हुनुका साथै ठूलो आकारका जोखिम बहन गर्ने क्षमता विस्तार हुने अपेक्षा गरिएको छ ।
सरकारले एक अर्ब रुपैयाँ थप गर्ने निर्णयसँगै निजी तथा संस्थागत सेयरधनीबाट समेत पुँजी जुटाउने कम्पनीको योजना छ । सरकारको स्वामित्व कायम राख्दै अन्य सेयरधनीलाई हकप्रद सेयर उपलब्ध गराउने व्यवस्थाले कम्पनीको विद्यमान सेयर संरचनालाई निरन्तरता दिनेछ ।


