अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले झुट्टा कागजातमार्फत भुक्तानी प्रक्रिया पूरा गरी राज्यलाई करिब १४ करोड रुपैयाँ हानी पुगेको निष्कर्ष निकालेको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा विभागले म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालीसँग म्यामोग्राफी मेसिन खरिद गर्दा सुरुदेखि नै राष्ट्रसेवक कर्मचारी र ठेकेदारबीच मिलेमतो भएको प्रमाण भेटिएको छ । खरिद लागत अनुमानदेखि भुक्तानीसम्मको सम्पूर्ण प्रक्रिया सार्वजनिक खरिद ऐन विपरीत गरिएको आयोगको भनाइ छ ।
उत्पादक कम्पनीले सो मेशिनको वास्तविक मूल्य करिब ६ करोड ८५ लाख रुपैयाँ पर्ने प्रमाणित हुँदा पनि विभागले १२ करोड ७५ लाखको लागत अनुमान तयार गरेको पाइएको छ । आयोगका अनुसार यो अनुमान कृत्रिम रूपमा बढाएर तयार पारिएको र ठेकेदार कम्पनीसँग पूर्वसम्झौता गरी ‘कागजी प्रतिस्पर्धा’ देखाइएको थियो ।
ठेक्का सम्झौताअनुसार सम्पूर्ण सामान नआएको अवस्थामा पनि तत्कालीन महानिर्देशक डा. मिश्राको निर्णयमा १३ करोड ३७ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरिएको थियो । पहिलो चरणमा मेशिनका केही एक्सेसरिज मात्रै आएको हुँदा सम्पूर्ण आपूर्तिविना भुक्तानी दिइनु गैरकानूनी रहेको अख्तियारको ठहर छ ।
सम्झौता उल्लङ्घन गर्ने ठेकेदार कम्पनी म्याक्सिम इन्कर्पोरेशनलाई कालोसूचीमा राख्नुपर्ने अवस्थामा समेत विभागका अधिकारीहरूले त्यस विपरीत कार्य गरेको आयोगले उल्लेख गरेको छ । ठेक्का सम्झौतामा भएका कमजोरी, गलत बिल–बिजक, र झुटा प्रतिवेदन पेश गरेर रकम भुक्तानी गरिँदा राज्यलाई १४ करोड ६ लाख ८५ हजार बराबरको हानी पुगेको देखिएको हो ।
अख्तियारले विशेष अदालत काठमाडौंमा दायर गरेको आरोपपत्रमा डा. मिश्रासहित तत्कालीन व्यवस्थापन महाशाखा निर्देशक डा. श्रवणकुमार थापा, निर्देशक डा. विवेककुमार लाल, वरिष्ठ प्रशासक डा. सुरेन्द्रप्रसाद चौरसिया, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, कानून अधिकृत सिता घिमिरे, बायोमेडिकल इन्जिनियर आशिष चौहान, पद्मा मिश्र र ठेकेदार कम्पनीका सञ्चालक सुन्दर भुसाललगायत १४ जनालाई प्रतिवादी बनाइएको छ ।
आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ र १९ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको जनाएको छ । विशेष अदालतमा मुद्दा दर्ता भएपछि अब अदालतले अनुसन्धान प्रतिवेदनका आधारमा आरोप सिद्ध गर्न आवश्यक कानूनी प्रक्रिया अघि बढाउनेछ ।


