Banijya News

अभिषेक गिरीविरुद्ध २१ करोडको ठगी आरोपमा मुद्दा

1
1.0K Shares

विवादित पुष्ठभूमि भएका अभिषेक गिरीविरुद्ध २१ करोड बढीको ठगी आरोपमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगीको मुद्दा दायर गरेको हो ।

गिरीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । व्यवसायी सुभाष श्रेष्ठले दिएको जाहेरीका आधारमा गिरीलाई पक्राउ गरेर सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।

कुनै समय गुन्डा नाइकेका रूपमा चर्चा पाएका अभिषेक गिरी अहिले फेरि पुरानै धन्दामा लागेर धम्क्याउँदै ठगी गरेको आरोप छ । उनले व्यवसायी श्रेष्ठको बूढानीकलण्ठको घरजग्गाका साथै गाडीहरू समेत कब्जा गरेको आरोप छ ।

व्यवसायी श्रेष्ठको गाडी कब्जा गरेर कवाडीमा बेच्ने काम पनि गरेको अनुसन्धानमा देखिएको छ । ना १ क १७३७ नम्बरको स्काभेटर उनले ३० लाखमा कवाडीमा बेचेको पाइएको छ । त्यस्तै, व्यवसायीको श्रेष्ठको लु १ क १५०६ नम्बरको टिपर ४० लाखमा बेचेको पनि भिडियो प्रमाण फेला परेको सीआईबीले बताएको छ ।

श्रेष्ठ कन्ट्रक्सन प्रालिको नबिल बैंकको खाली चेक जबरजस्ती लिई ५ करोड ४५ लाख ६० हजार ५०५ रुपैयाँ बराबरको उल्लेख गरी बाउन्स गरी ठगी गर्न खोजेको आरोप छ । हेटौंडाको जग्गा बैना बापत १ करोड ३० लाख लिई कब्जा गरेको आरोप छ । त्यस्तै, १३ करोड ८७ लाख १५ हजार ५ सय रुपैयाँ गिरीले विश्वासघात गरेको कारण नबिल बैंकले फोर्स लोन बुक गरी भुक्तान गरेको थियो ।

उता, बूढानीलकण्ठको ३ करोड ८७ लाख पर्ने घरजग्गा विश्वासघात गरी कब्जा गरेको पनि आरोप छ । व्यवसायी श्रेष्ठको पानी ट्यांकर, ट्रिपर र ग्रेडर पनि गिरीले कब्जा गरेको आरोप छ ।

यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद बसेर ५ चैत २०७९ मा गिरी छुटेका थिए । कारागारबाट निस्केका गिरीको दादागिरी कारागार भित्रदेखि बाहिरसम्मै फैलियो । गिरीले धम्क्याएरै काठमाडौंमा घर कब्जा गरेको सीआईबीले बताएको छ ।

श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीका सञ्चालक तथा निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई गिरीले विभिन्न व्यक्तिसँग चिनजान तथा पहुँचका आधारमा ठेक्का पारिदिने भन्दै ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप छ ।

1

Scroll to Top