Banijya News

एघार महिनामा बैंकहरूले एसडिएफमा राखे एक सय ९७ खर्ब

1
1.1K Shares

देशका बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजी थुप्रिँदै गएको छ । बिहीबारसम्म आठ खर्ब ४२ अर्ब रुपैयाँबराबरको तरलता बैंकिङ प्रणालीमा निष्क्रिय रूपमा थन्किएको देखिएको छ, जुन कर्जाको माग नबढ्दाको सीधा परिणाम हो ।

नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार, बैंक तथा वित्तीय संस्थाको कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ७८.०५ प्रतिशतमा झरेको छ । अहिले बैंकहरूले ९० प्रतिशतसम्मको अनुपातमा कर्जा प्रवाह गर्न पाउँछन् । यस्तो हिसाबले बैंकहरूसँग अझै ११.९५ प्रतिशत निक्षेप कर्जाका रूपमा प्रवाह गर्न सक्ने क्षमता बाँकी छ । हाल प्रणालीमा रहेको ७० खर्ब ४३ अर्ब रुपैयाँ निक्षेपका आधारमा झन्डै आठ खर्ब ४१ अर्ब रुपैयाँ कर्जाका लागि प्रयोग गर्न सकिने अवस्था छ ।

आर्थिक वर्षको अन्तिम महिना असारमा प्रायः बैंकहरूले कर्जा प्रवाहभन्दा पनि पुराना कर्जाको असुलीलाई प्राथमिकता दिन्छन् । यसैबीच, सरकारले यस समय खर्च बढाउने भएकाले निक्षेपमा थप वृद्धि हुँदै जान्छ । तर यथार्थमा, बढ्दो निक्षेपसँग अनुपातिक रूपमा कर्जाको माग र प्रवाह बढ्न सकेको छैन ।

नेपाल बैंकर्स संघका अनुसार १२ दिनको अवधिमा वाणिज्य बैंकहरूले ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरे तापनि सोही अवधिमा कर्जा प्रवाह भने केवल आठ अर्ब रुपैयाँले मात्र बढेको छ । कर्जाको अभावले गर्दा बैंकहरूले राष्ट्र बैंकको स्थायी निक्षेप सुविधा (एसडिएफ) प्रयोग गर्न थालेका छन् । आइतबार मात्रै वाणिज्य बैंकहरूले एक खर्ब ८० अर्ब रुपैयाँ स्थायी निक्षेपका रूपमा राखेका थिए ।

२० वटा वाणिज्य बैंकमध्ये १२ वटाको सीडी अनुपात ८० प्रतिशतभन्दा माथि पुगेको छ, जुन प्रवाह दबाबमा रहेको सूचक हो । सबैभन्दा धेरै सिडी रेसियो सिटिजन्स बैंक (८५.६०%), माछापुच्छ« बैंक (८४.४५%), र प्राइम कमर्सियल बैंक (८४.३९%) मा देखिन्छ । यिनले जोखिमको सिमानासम्म कर्जा विस्तार गरेका छन् ।

तर अर्कोतर्फ, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल एसबिआई, स्ट्यान्डर्ड चार्टर्ड र प्रभु बैंकजस्ता बैंकको सिडी अनुपात औसतभन्दा कम (६४–७२ प्रतिशत) देखिएको छ, जसले ती संस्थाहरूमा कर्जा प्रवाह क्षमता अझै बाँकी रहेको जनाउँछ ।

एसडिएफको अत्यधिक प्रयोग : तरलता व्यवस्थापन वा संकट संकेत ?
गत फागुन ८० देखि सुरु गरिएको एसडिएफमार्फत बैंकहरूले एघार महिनामा एक सय ९७ खर्ब रुपैयाँभन्दा बढी राष्ट्र बैंकमा स्थायी निक्षेपका रूपमा राखेका छन् । एक दिनमा मात्र तीन खर्ब ७२ अर्बसम्मको सुविधा प्रयोग गरिएको तथ्यांकले देखाउँछ ।

तरलताको यति उच्च प्रयोग हुनु आफैंमा प्रश्नको विषय बनेको छ । अर्थविद् नरबहादुर थापा भन्छन्, “बैंकहरूमा अत्यधिक तरलता हुनु भनेको अर्थतन्त्र गतिशील छैन भन्ने संकेत हो । कर्जाको माग छैन भने उद्योग व्यापारको अवस्था पनि सुस्त छ भन्ने बुझिन्छ ।”

बढ्दो तरलतालाई सन्तुलनमा ल्याउन राष्ट्र बैंकले आइतबार मात्रै ६३ दिनको निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ प्रशोचन गरेको छ । यसले बैंक प्रणालीमा उपस्थित तरलता घटाउने उद्देश्य राखेको छ । तर दीर्घकालीन समाधानका लागि सरकार र नियामक निकायको ठोस पहल आवश्यक देखिन्छ ।

1

Scroll to Top