नेपाल सरकारले सार्वजनिक संस्थानहरूको सञ्चालन सहज बनाउन हरेक वर्ष ऋण थप्दै लगेको छ। चालु आर्थिक वर्षमा कुल १५ अर्ब २४ करोड ८६ लाख रुपैयाँ बराबरको ऋण तथा सेयर लगानी थपिएको अर्थ मन्त्रालयले जनाएको छ। यसमा एसियाली विकास बैंक र विश्व बैंकमा गरिएको वैदेशिक सेयर लगानीसमेत समावेश छ। यस वर्ष सरकारले ३४ करोड ८९ लाख रुपैयाँ वैदेशिक सेयर लगानी, दुई अर्ब ८९ करोड ४५ लाख रुपैयाँ सरकारी संस्थानमा सेयर लगानी, र १२ अर्ब ५१ करोड रुपैयाँ ऋण लगानी गरेको छ।
हालैका वर्षहरूमा सार्वजनिक संस्थाहरूको मुनाफामा खासै सुधार नआएपछि सरकारले सेयर लगानी घटाएर ऋण लगानी बढाएको देखिन्छ। चालु वर्षमा गरिएको कुल लगानीको ७९ प्रतिशत ऋण रहेको छ।
यो वर्ष सरकारले नेपाल विद्युत प्राधिकरणलाई सबैभन्दा बढी ऋण उपलब्ध गराएको छ। प्राधिकरणसँग नगद रकमको अभावले दैनिक कार्यसञ्चालनमा समस्या आएको र विभिन्न निर्माणका कामको भुक्तानीसमेत गर्न नसकेको भन्दै ऋण प्रस्ताव गरेको थियो। अर्थ मन्त्रालयका अनुसार यो वर्ष विद्युत प्राधिकरणमा नौ अर्ब नौ करोड २० लाख रुपैयाँ ऋण थपिएको छ। यसअघि पनि सरकारले प्राधिकरणलाई ठूलो मात्रामा ऋण दिँदै आएको छ। प्राधिकरणको श्वेतपत्रअनुसार सरकारले आन्तरिक ऋण उठाएर ७७ अर्ब रुपैयाँ र सरकार जमानत बसेर १ खर्ब ७७ अर्ब रुपैयाँको वैदेशिक ऋण दिएको थियो।
यस वर्ष ऋण लगानीका साथै प्राधिकरणमा दुई अर्ब ३५ करोड रुपैयाँ सेयर लगानी पनि गरिएको छ। विद्युत प्राधिकरणबाहेक यो वर्ष अन्य सार्वजनिक संस्थानहरूमा पनि ऋण लगानी गरिएको छ। साना किसान विकास बैंक लघुवित्त संस्थालाई एक अर्ब ७ करोड, कृषि विकास बैंकमा ८० करोड ८४ लाख, दुग्ध विकास संस्थानलाई ६० करोड, साझा प्रकाशनलाई ५ करोड र नगर विकास कोषलाई करिब ३८ करोड रुपैयाँ ऋण थपिएको छ।
सेयर लगानीतर्फ, सरकारले यस वर्ष सार्वजनिक संस्थानमा दुई अर्ब ८९ करोडभन्दा बढी रकम निकासा गरेको छ। यसमध्ये विद्युत प्राधिकरणमा दुई अर्ब ३५ करोड, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई २० करोड, राष्ट्रिय प्रसारण तथा ग्रिड कम्पनीलाई १२ करोड, र नेपाल खानेपानी संस्थानलाई २१ करोड रुपैयाँ सेयर लगानीका रूपमा निकासा गरिएको छ। साथै, सरकारले एसियाली विकास बैंकमा २२ करोड र विश्व बैंकमा १२ करोड रुपैयाँ वैदेशिक सेयर लगानी पनि थपेको छ।
सरकारले सार्वजनिक संस्थानहरूमा गरेको लगानीमा पछिल्ला वर्षहरूमा ऋणको अनुपात बढ्दै गएको छ। सार्वजनिक संस्थानको वार्षिक समीक्षा २०८० अनुसार, ६ खर्ब १७ अर्ब रुपैयाँको कुल लगानीमा ३ खर्ब २८ अर्ब रुपैयाँ सेयर लगानी र दुई खर्ब ८९ अर्ब रुपैयाँ ऋण लगानी रहेको थियो। चालु वर्षको असार मध्यसम्म आइपुग्दा कुल लगानी ८ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ, जसमा ऋण ४ खर्ब ४३ अर्ब रुपैयाँ र सेयर ३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ।
सेयर लगानीबाट सम्बन्धित संस्थानले गरेको नाफाबाट सरकारले लाभांश प्राप्त गर्छ। विगतको तुलनामा यस्तो लाभांशमा केही सुधार आएर ५ प्रतिशत पुगेको छ, तर यो दर अझै पनि न्यून मानिन्छ। सेयर लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन छोडेपछि सरकारले ऋण लगानी गर्दै आएको छ। ऋण लगानीमा सरकारले निश्चित समयमा साँवा फिर्ता पाउने र साँवा फिर्ता नभएसम्म ब्याज उठाउने अपेक्षा राख्छ।
यद्यपि, महालेखा परीक्षकको कार्यालयले सरकारले महँगो ब्याजमा ऋण उठाएर सस्तोमा सार्वजनिक संस्थानलाई ऋण दिएको भन्दै प्रश्न उठाउँदै आएको छ। आर्थिक वर्ष २०७९/८० मा सरकारले आन्तरिक ऋण ११ प्रतिशतमा उठाएको, मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशतसम्म पुगेको समयमा पनि सरकारले संस्थानहरूलाई औसतमा ५ प्रतिशत ब्याजमा ऋण दिएको थियो। यसबाहेक, महालेखाले सार्वजनिक संस्थानपिच्छे फरक-फरक ब्याजदरमा ऋण लगानी गरेको भन्दै पनि प्रश्न उठाएको थियो।


