११ असोज, काठमाण्डौ ।
कोरोना महामारीका बिच रेमिट्यान्समा कमी आउने आँकलन गरीएको थियो । तर, त्यसको बाबजुद नयाँ आबको पहिलो महिना साउनमा रेमिट्यान्स २३ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको बर्तमान आर्थिक रिपोर्टले रेमिटेन्समा २३ प्रतिशतले बृद्धि भएको देखाएको हो ।
अघिल्ला आर्थिक वर्षहरूमा साउनमा करिब पौने खर्बमात्र रेमिट्यान्स नेपाल भित्रिएकोमा ०७७ साउनमा नेपाल भित्रिने रेमिट्यान्स २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड पुगेको छ । गत आर्थिक वर्षको साउनमा रेमिट्यान्स आप्रवाह २.० प्रतिशतले मात्र बढेकोमा ०७७ साउनमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि भई रु.९२ अर्ब ७१ करोड पुगेको छ । साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउनमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।
राष्ट्र बैकका अनुसार, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह०.७ प्रतिशतले बढेको थियो ।
यस्तै, साउनमा खुद ट्रान्सफर आय २०.० प्रतिशतले वृद्धि भई रु.१०१ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.२ प्रतिशतले बढेको थियो । साउनमा चालू खाता.२५ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको साउनमा चालू खाता ९ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो । त्यसैगरी, राष्ट्र बैकका अनुसार साउनमा ५१ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको थियो ।


