काठमाण्डौ –
विश्वब्यापी कोरोना संक्रमणबाट पीडित ब्यावसायीले संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन् । कोभिड १९ संक्रमणका कारण गत चैत्र महिनाको लकडाउन पछि धेरै पेशा, व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको समय ब्यावसायीले आन्दोलन गर्ने भएका हुन् । कोरोना पीडित २२ संगठनले संयुक्त समिति बनाएर आन्दोलन गर्ने भएका हुन् ।
सार्वजनिक यातायात व्यवसायी, पर्यटनसँग सम्बद्ध संगठनहरु, निजी विद्यालय, पार्टी प्यालेस तथा क्याटरिङ, निर्माण सामाग्री व्यापर संघ, आयुर्वेद, सुनचाँदी, फर्निचर, काष्ठकला लगायतका व्यवसायसँग सम्बन्धित संघसंस्थाले संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेका हुन् । कर्णबहादुर शाहीको संयोजकत्वमा नयाँ समिति बनाएर संर्घषका कार्यक्रम घोषणा गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण लकडाउन घोषणा पछि पेशा, व्यवसाय धरासायी भएको र राज्यले सेवामूलक तथा विभिन्न उद्योग, व्यवसायको समस्या समाधान गर्न उदासिन भएको भन्दै ७ दिनको अल्टिमेटम दिएर छन् ।
ब्यावसायीले आफ्ना मागमा कोभिडका कारण धरासायी बन्न पुगेका पेशा, व्यवसायको संरक्षणमा सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने, बन्द रहेका पेशा व्यवसायको सम्पूर्ण कर र जरिवाना मिनाहा गर्नुपर्ने, ऋणको व्याज, घरभाडा छुट गर्न राज्यले व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।
कोभिडका कारण बन्द रहेको सम्पूर्ण पेशा व्यवसायमा लगाइने राज्यका सबै कर र जरिवाना मिनाहा गर्नुपर्ने बताएका छन्। कोभिड प्रभावित व्यवसायमा आश्रित सम्पूर्ण कर्मचारीलाई राज्यले न्यूनतम ५० प्रतिशत तलबको व्यवस्था गर्नुपर्ने माग अगाडि सारेका छन्।
माग पुरा गराउन सम्बन्धित निकायमा ७ दिनको म्याद दिएको उल्लेख गर्दै संघर्ष समितिले माग पुरा नभए निजी क्षेत्रबाट सरकारलाई तिर्ने करको अवज्ञा गर्ने, सडक प्रदर्शन गर्ने तथा राष्ट्र बैंक, वित्तिय संस्था एवम् सिंहदरबार घेराउ गर्ने संघर्षको कार्यक्रम घोषणा गरेको छन ।


