काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिडको प्रभावबाट बाहिर ल्याउन सबैभन्दा बढी सहयोग गर्नुपर्ने बताएका छन् । उनले साना उद्यम प्रभावबाट बाहिर आएमा मात्र उद्यम क्षेत्र प्रभाबबाट बाहिर आउँने बताए ।
महासंघको नवनिर्वाचित पदाधिकारीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भटेको समय गोल्छाले यस्तो बताएका हुन् । टोलीले आइतबार राष्ट्रपति भवन शितलनिवासमा भेटवार्ता गरेको थियो ।
सो अवसरमा राष्ट्रपतिले महासंघको नवनिर्वाचित पदाधिकारीहरूलाई कार्यकाल सफलताको लागि शुभकामना दिएकी थिइन् ।
महासंघको नयाँ नेतृत्वले सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि महासंघ विशेष लक्ष्य सहितको भिजन पेपर तयारीमा लागेको जानकारी राष्ट्रपतिलाई गराएको थियो । जानकारीमा गोल्छाले कोभिड पुनरूत्थान विशेष कार्यक्रम आवश्यक भएकोमा जोड दिएका थिए । उनले साना मझौला व्यवसाय चल्न सके भने ठूला उद्योग स्वत चल्न सक्ने हुँदा सरकार तथा राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले खोजेको बताए ।
लाखौं युवाहरू वेरोजगार रहेको र उनीहरूको व्यवस्थापन यतिखेर मुलुककै लागि चुनौती रहेको सन्दर्भमा महासंघको भिजन पेपरले वार्षिक ४ लाख युवाका लागि रोजगारी सृजना गर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएको बताएका छन् ।
अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशत भन्दा कम हुने प्रक्षेपण भैरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार र निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलालहिराचन सहितको पदाधिकारी प्रतिनिधिमण्डलले राष्ट्रपति निवास पुगेको थियो ।


