फाल्गुन १३, काठमाडौँ —
सरकारले माटोको डिजिटल नक्सा सार्वजनिक गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषदन्तर्गत राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले डिजिटल नक्सा ल्याएको हो । उक्त डिजिटल नक्सा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले अमेरिकी आर्थिक सहयोगमा डिजिटल नक्सा निर्माण गरेको हो । परिषद्ले समिट नेपाल र नेपाल सिड एन्ड फर्टिलाइजर परियोजनाको सहयोगमा ४ वर्ष लगाएर नक्सा सार्वजनिक गरेको हो । माटोमा रहेका तत्वहरु र तिनलाई वातावरणीय कारणबाट पर्ने प्रभावसमेतलाई गणितीय तथा तथ्यांकीय मोडलको माध्यमबाट प्रयोगशालामा विश्लेषण गरी नक्सा तयार गरिएको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नेतर्फ माटोको डिजिटल म्यापिङ महत्वपूर्ण फड्को भएको दाबी गरेकिछिन् । उनले भनिन् । उनले दक्षिण एसियाकै पहिलो देश हुने गरी माटोको डिजिटल नक्सा तयार गर्न सफल भएको दाबी गरेकी छिन् ।
के हो डिजिटल माटो परीक्षण ?
माटाको डिजिटल नक्सा भनेको माटोमा रहेका विभिन्न तत्व वा गुणहरू देखाउनका लागि जीपीएसका माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा हो ।
माटोमा रहेका तत्वहरू र तिनलाई वातावरणीय कारणबाट पर्ने प्रभाव समेतलाई गणितीय तथा तथ्यांकीय मोडेलको माध्यमबाट प्रयोगशालामा विश्लेषण गरिएका माटोको नतिजाको आधारमा तयार पारिने यस्ता नक्साले माटोसम्बन्धी विविध सूचना दिने गर्छन् ।
यो नक्सा नेपालको सबै प्रदेशको प्रतिनिधित्व हुने गरी ५६ जिल्लाबाट कुल २३ हजार २ सय ७३ वटा माटोको नमूनाहरूको परीक्षण गरी विश्लेषणको आधारमा तयार गरिएको छ । यस डिजिटल नक्साले बाली उत्पादकत्व बढाउन, माटोमा रहेको अम्लीयपना घटाउने देखि माटोमा प्रांगारिक पदार्थ बढाउने जस्ता काम गर्न सहयोग पुग्नेछ । प्रधानमन्त्री केपी ओलीकै शैलीमा ‘माटोमा कुन पोषक तत्व छ, छैन वा बढी छ, रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले थाहा पाउन सकिने हुन्छ ।
कसरी हेर्न सकिन्छ ?
किसानले आफूसँग रहेको कम्प्युटर वा मोबाइलको माधयमबाट माटोको गुणस्तर हेर्न सक्छन् । मोबाइल एप्सको माध्यमद्धारा आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच गर्न सक्नेछन् ।
परिषद्ले नक्सा प्रयोग गर्न सहज हुने गरी विभिन्न मोबाइल एप्लिकेसन्स तयार गरिरहेको छ । यस्ता काममा सरकारी तथा निजी क्षेत्र सबैको संलग्नतामा काम हुँदै आएको छ । विभिन्न स्रोतबाट संकलित माटोको सूचनाका आधारमा हरेक दुई वर्षमा डाटाबेसलाई अद्यावधिक गरितयार गरिने यो प्रणालीले आफू उभिएको स्थानको माटोको बारेमा जानकारी दिन्छ ।
यसबाट पुग्ने फाइदा के ?
विद्युतीय नक्सांकनले किसानले आफ्नो जग्गाको माटोमा कुन तत्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ ? कुन बालीको उत्पादन राम्रो हुन्छ ? कति मल प्रयोग गर्ने जस्ता जानकारी सहजै लिन सक्नेछन् । नक्सांकन कार्यले किसान मात्र नभई नीति निर्माता, अनुसन्धानकर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्तालाई समेत माटोसम्बन्धी पूर्ण जानकारी दिने नार्कले जनाएको छ । यसबाट कुन ठाउँको माटोमा के कस्ता सुधार गरी बालीको उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ ? कुन ठाउँमा कस्तो किसिमको मल आपूर्ति गर्ने, माटोको सुधारका लागि अम्लीयपन, प्रांगारिक पदार्थको मात्रा तथा सुक्ष्म खाद्य तत्वहरुको सन्तुलन कसरी गर्ने ? जस्ता निर्णय लिन सहज हुनेछ छ ।


