काठमाडौं । दोस्रो तहाको कोरोना भाइरस संक्रमण बढदै जाँदा त्यस्को नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले १३ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशलाई अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनका लागि छ करोड रुपैयाँ, अक्सिजन कन्सन्ट्रेटरका लागि पाँच करोड ४५ लाख रुपैयाँ, रेम्डिसिभरलगायत औषधि खरिद तथा कोभिड बिरामीको हवाइ उद्धारका लागि एकएक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले प्रदेशका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्नका लागि अक्सिजन प्लान्ट सुर्खेत जिल्लामा स्थापना (निर्माण) तथा सञ्चालन गर्ने र त्यसका लागि सामाजिक विकास मन्त्रालयले तत्काल आवश्यक कार्य तथा व्यवस्थापन गर्ने निर्णय गरेको हो ।


