नेपाल दूरसञ्चार प्राधिकरणले तीन कम्पनीको अनुमति पत्र खारेज गरेको छ । प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो।
युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) सहित अन्य कम्पानीहरु कोटेश्वरस्थित म्याक्स नेट सोलुसन र चितवन नेटवर्कको इन्टरनेट (ई–मेलसहित) अनुमति प्राधिकरणले खारेज गरेको छ।
काठमाडौँको पुतलीसडकस्थित यूटीएल, यूटीएलले २०६० साल कात्तिक ५ गते, म्याक्स नेटले २०७५ साल मङ्सिर ६ गते र चितवन नेटवर्कले २०७५ साल मङ्सिर १२ गते ई–मेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए। अनुमति पत्र ५ वर्षपछि नवीकरण व्यवस्था रहेको छ।
यी तीन वटै सेवा प्रदायकले अनुमति पत्र नवीकरण नगरेको प्राधिकरणले जनाएको छ। ‘तोकिएको समयावधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन पेस नगरेकाले ती कम्पनीको अनुमति पत्र स्वतः खारेज भएको छ’, सूचनामा भनिएको छ।
ती कम्पनीलाई नियमानुसार तिर्न र बुझाउनुपर्ने दस्तुर रकम तथा विवरणहरू ३० दिनभित्र बुझाउन पनि प्राधिकरणले निर्देशन दिएको छ। अन्यथा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ।


