चालु आर्थिक वर्षको ११ महिनामा करिब पौने ७ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, यस अवधिमा ६ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ हायर पर्चेज प्रकृतिको कर्जा विस्तार भएको हो। यो कर्जा गत आर्थिक वर्षको तुलनामा ५.५ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म कुल १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह भएकोमा, चालु आर्थिक वर्षको जेठ मसान्तसम्म यो बढेर १ खर्ब ३० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।
प्रवाह भएको हायर पर्चेज कर्जामध्ये ७७.६ प्रतिशत व्यक्तिगत र २२.४ प्रतिशत व्यावसायिक क्षेत्रमा गएको छ। व्यक्तिगततर्फ ५ अर्ब ३१ करोड १२ लाख रुपैयाँ र व्यावसायिकतर्फ १ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ कर्जा विस्तार भएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा व्यक्तिगत हायर पर्चेज कर्जा १४.४ प्रतिशतले बढेर ४२ अर्ब १५ करोड २५ लाख रुपैयाँ पुगेको छ, जबकि गत वर्ष यो ३६ अर्ब ८४ करोड १३ लाख रुपैयाँ थियो। त्यस्तै, व्यावसायिक हायर पर्चेज कर्जा १.८ प्रतिशतले बढेर ८८ अर्ब ७९ करोड ५५ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष ८७ अर्ब २६ करोड ११ लाख रुपैयाँ थियो।


