विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलले आज असार २९ गते आइतबार बिहान शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपीओमा कुल २१ लाख ५० हजार ६ सय ७२ जनाको आवेदन परेको थियो । जस मध्ये २० लाख ४३ हजार ६ सय ८६ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा २ लाख ९४ हजार २ सय ७६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । कम्पनीको आईपीओ बाँडफाँटमा १८ लाख ५६ हजार ३९६ जनाको हात खाली भएको छ ।
कम्पनीले असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयर निष्काशन गरेको थियो।
थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्नु अघि कम्पनीले १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले आफ्नो जारी पूँजीको ४९ प्रतिशत दरले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।


