२०८२/८३ को मौद्रिक नीतिले पूर्वका उद्योगी व्यवसायीहरूमा ठूलो उत्साह ल्याएको छ । शुक्रबार सार्वजनिक भएको यो नीतिलाई उनीहरूले ‘मागेभन्दा बढी’ नै पाएको प्रतिक्रिया दिएका छन् । विशेषगरी, उत्पादनमूलक उद्योगलाई प्रोत्साहन, कर्जाको पहुँचमा वृद्धि र ब्याजदरमा सहुलियतजस्ता मागहरूलाई मौद्रिक नीतिले सम्बोधन गरेको उनीहरूको भनाइ छ ।
नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिप्रति मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले सकारात्मक प्रतिक्रिया दिए । उनका अनुसार यो नीतिले नेपालको वित्तीय स्थायित्व कायम गर्दै कर्जाको पहुँच बढाउन, निजी क्षेत्रको पुँजी निर्माणमा सहयोग पुर्याउन र सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण संयन्त्रहरू अपनाएको छ । औद्योगिक क्षेत्र यस लचिलो कार्यदिशाबाट उत्साहित भएको र वित्तीय प्रणालीलाई थप आधुनिक, सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउन राष्ट्र बैंकको पहल सराहनीय रहेको राठीले बताए ।
अध्यक्ष राठीले मौद्रिक नीतिमा समेटिएका केही प्रमुख बुँदाहरूलाई विशेष रूपमा प्रकाश पारे । व्यक्तिगत तथा पारिवारिक लगानीकर्ताको हकमा शेयर धितो कर्जा सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याइएकोमा यसले नेपाली शेयर बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । त्यसैगरी, घरजग्गाको हकमा मूल्याङ्कनको सीमालाई ८० प्रतिशतसम्म कर्जा दिने र निजी आवासीय घर कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड पुर्याउने व्यवस्थाले सुस्त रहेको घरजग्गा कारोबारलाई प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।
मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले साना तथा मझौला उद्योग व्यवसायको लागि २ करोडको कर्जा सीमालाई बढाएर ३ करोड कायम गरिएको र कर्जामा आधार दरमा बढीमा २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गर्ने व्यवस्थाले निजी क्षेत्रमा उत्साह थपेको बताए । उनका अनुसार कृषिजन्य फसल, जमिन, व्यवसायको धितो राखी १० लाखसम्मको कर्जा प्रवाह गर्ने, सोको ग्रेस अवधिमा न्यूनतम कर्जा नोक्सानी व्यवस्था गर्ने, कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने, चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई कृषि, साना तथा घरेलु उद्योग लगायतको प्रकृति र आम्दानी–भुक्तानी चक्रको आधारमा परिमार्जन गरिने, र लघुवित्तमा ३ प्रतिशतको प्रिमियम दरको आधारमा ब्याजदर निर्धारण गर्ने लगायतका व्यवस्था पनि निकै सकारात्मक छन् । संघले यो मौद्रिक नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके आगामी बजेटको कार्यान्वयनमार्फत अपेक्षित ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न सकिने बताएको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले पनि मौद्रिक नीति अपेक्षाभन्दा राम्रो आएको टिप्पणी गरे । उनले शेयर कारोबार, घरजग्गा कारोबार, चालु पुँजी कर्जा र बैंक ब्याजसम्मलाई मौद्रिक नीतिले राम्रो दिशा दिएको बताए । राष्ट्र बैंकले निजी क्षेत्रका धेरै सुझावहरूलाई सम्बोधन गरेको र कतिपय व्यवस्था त अपेक्षाभन्दा बढी नै सम्बोधन गरेकोले गभर्नरले व्यवसायीका समस्या राम्ररी सुनेको महसुस भएको उनको भनाइ छ । यो नीतिले हाल बजारमा रहेको निराशा र सुस्ततालाई सम्बोधन गरी बजारलाई चलायमान बनाउने अपेक्षा राठीले व्यक्त गरे ।


