नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गम्भीर असन्तुष्टि जनाएको छ। नाइमाले अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधार र सन्तुलित विकासका लागि आफूले दिएका महत्वपूर्ण सुझावहरूलाई मौद्रिक नीतिमा पूर्ण रूपमा बेवास्ता गरिएको आरोप लगाएको छ।
नाइमाका अनुसार, राष्ट्र बैंकलाई कर्जा अनुपात व्यवस्था अन्तर्राष्ट्रिय मापदण्ड, सवारीको प्रकृति र बजारको मागअनुसार पुनरावलोकन गर्न सुझाव दिइएको थियो। विशेष गरी, सबै प्रकारका सवारीसाधनका लागि ८० प्रतिशत कर्जा र २० प्रतिशत डाउन पेमेन्टको अनुपात कायम गर्न स्पष्ट माग राखिएको थियो। तर, मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका लागि यस्तो कुनै नीति समावेश नभएकोमा नाइमाले निराशा व्यक्त गरेको छ।
नाइमा अध्यक्ष रितुसिंह वैद्यले जारी गरेको विज्ञप्तिमा मौद्रिक नीतिले समग्र कर्जा आपूर्तिमा वृद्धि गर्ने उद्देश्य लिए पनि अटो कर्जाको पहुँच विस्तारका लागि कुनै स्पष्ट र लक्षित उपाय समावेश नगरेकोमा आपत्ति जनाइएको छ। अन्य क्षेत्रहरू जस्तै रियल इस्टेट, शेयर बजार र अन्य उद्योगहरूका लागि नीतिहरू स्पष्ट रूपमा समावेश गरिए पनि अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरिएको उनको भनाइ छ।
नाइमाले चीनमा उत्पादन भई चीनबाटै ढुवानी हुने सवारीसाधन आयात गर्दा युआनमा प्रतीत पत्र (LC) खोल्न अनुमति दिनुपर्ने माग राखेको थियो। अन्तर्राष्ट्रिय व्यापारको हालको त्रिपक्षीय संरचनामा यो व्यवस्था अत्यावश्यक भए पनि मौद्रिक नीतिले यसलाई बेवास्ता गरेको नाइमाले जनाएको छ। त्यस्तै, सवारी कर्जालाई सुरक्षित कर्जा मानिने हुँदा यसको जोखिम भारित सम्पत्तिको दर हालको १०० प्रतिशतबाट घटाएर ७५ प्रतिशत कायम गर्नुपर्ने सुझाव पनि मौद्रिक नीतिमा समावेश गरिएको छैन। यस्तो प्रावधानले कर्जा प्रवाहलाई सहज बनाउने र बजार विस्तारमा सहयोग पुर्याउने नाइमाको विश्वास थियो।
यद्यपि, नाइमाले मौद्रिक नीतिले समग्रमा कर्जा आपूर्तिमा वृद्धि गर्ने उद्देश्य लिएको हुँदा यसले अटो कर्जाको उपलब्धता र पहुँचमा सकारात्मक प्रभाव पार्न सक्ने सम्भावना रहेको पक्षलाई भने सकारात्मक रूपमा लिएको छ। समग्रमा, नाइमाले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकता र दीर्घकालीन सुधारका सुझावहरूलाई सम्बोधन गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ। यसले अटोमोबाइल बजारको वृद्धिमा नकारात्मक असर पार्न सक्ने उनीहरूको भनाइ छ।


