विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापाको विर्तामोडमा पाँचतारे होटल एट्रियम बनाइरहेका छन् । निर्माणाधीन होटल एट्रियम प्राइभेट लिमिटेडको हालसम्म ८९ प्रतिशत वित्तीय प्रगति भएको छ ।
यसअघि दुई अर्ब ८४ करोड ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । होटलमा कोठाको संख्या थपिए ९८ वटा पुगेपछि लागत पनि बढेको एट्रियमले जनाएको छ । यसअघि ९६ कोठा बनाउने तय भएको थियो । बैंक्वेट र क्यासिनोको आकारको विस्तार र विस्तारित निर्माण समयसीमाबाट उत्पन्न हुने उच्च ब्याज लागतले लगानी थपिएको बताइएको छ ।
होटल आगामी २०८३ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको रेटिङका लागि सार्वजनिक गरिएको विवरणमा उल्लेख छ । होटल निर्माण एक वर्षपछि धकेलिएको छ । यसअघि यही असारभित्र सम्पन्न गर्ने लक्ष्य थियो । होटलको समय थपसँगै लागत पनि बढेर तीन अर्ब २९ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
कुल लगानी मध्ये एक अर्ब ९९ करोड रुपैयाँ ऋणको व्यवस्थापन पहिले नै भइसकेको छ भने बाँकी भागका लागि अझै ऋण जुटाउन बाँकी रहेको छ । होटलमा रेस्टुरेन्ट, स्विमिङ पुल, कन्फरेन्स हल, बैंक्वेट हल, स्पा, क्यासिनोलगायत पाँचतारे स्तरका सुविधाहरू समावेश छन् ।
सामान्यतया, होटलहरूलाई सम्बन्धित निश्चित लागतहरू पुनः प्राप्ति गर्न र नाफा कमाउन लामो समय चाहिन्छ । प्रिमियम होटल निर्माण गर्न तीन देखि चार वर्ष लाग्ने गर्छ । सञ्चालन स्थिरीकरणमा थप दुई देखि तीन वर्ष लाग्न सक्छ ।
७१ प्रतिशत ऋण र बाँकी २९ प्रतिशत स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ । होटलले २ अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
होटल चन्द्रगढी एयरपोर्टबाट १३ र नेपाल–भारत सिमाना जोगवनीबाट ३० किलोमिटर दुरीमा छ । यस्तै इलामा चिया बगानबाट ५७ किलोमिटर छ भने पाथीभराबाट ९८ किलोमिटर दुरीमा रहेको छ । होटलका अध्यक्ष व्यवसायी प्रसाईं हुन् । उनले झापामा बिएन्डसी मेडिकल कलेज सञ्चालन गरिरहेका छन् भने पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक पनि हुन् ।
प्रसाईंले एट्रियमको स्थापना सन् २०१६ मा गरेका हुन् । होटल १६ हजार ८ सय ४३ वर्गमिटर क्षेत्रफलमा फैलिने भएको छ । व्यवसायी प्रसाईं गत चैत १५ गते काठमाडौंमा भएको हिंसात्मक आन्दोलनको प्रमुख योजनाकार रहेको पाइएपछि पुर्पक्षका लागि जेल चलान भएका छन् ।


