वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७४ र नियमावली, २०७६ उल्लंघन गर्ने नौ वटा संस्था तथा फर्ममाथि जरिवाना र निर्देशनात्मक कारबाही गरेको छ।
अनुगमनमा बुटवल उपमहानगरपालिका–११ मा रहेको श्रीराम टोबाको उद्योग प्रालिमाथि तीन लाख रुपैयाँ जरिवाना गरिएको छ। ललितपुर महानगरपालिका–०२ मा सञ्चालित एस.भी.एल. प्रोफेशनल प्रालिमाथि दुई लाख पाँच हजार रुपैयाँ जरिवाना लगाइएको विभागले जनाएको छ।
अन्य सात वटा फर्महरूलाई आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। ती फर्महरूमा केश नेपाल, एस.एस. एजुकेशन सलुसन सर्भिस, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, राहुल ट्रेड लिंक्स, अक्सव्रिज फाउन्डेशन फर ग्लोबल स्टडिज, प्यासिफिक एजुकेशन कन्सल्टेन्सी प्वाइन्ट, र पशुपतिनाथ इन्टरनेशनल बिजनेस प्रालि परेका छन्।
यीमध्ये प्यासिफिक एजुकेशन कन्सल्टेन्सी प्वाइन्ट र पशुपतिनाथ इन्टरनेशनल बिजनेसलाई विभागले सामान्य निर्देशन दिएको छ।
विभागले अनुगमनका क्रममा ऐनको दफा २९ र ३९ उल्लंघन गरिएको फेला परेको जनाउँदै सोही आधारमा कारबाही गरिएको स्पष्ट पारेको छ।


