Banijya News

घरजग्गा कारोबारबाट संकलन हुने राजस्व ४२ प्रतिशतले बढ्यो

1
1.1K Shares

यस वर्षको असार महिनामा घरजग्गाको कारोबारसँगै त्यसबाट संकलन हुने राजस्व पनि बढेको छ । यस वर्षको असार महिनामा गत वर्ष (२०८१ साल) को असारको तुलनामा घरजग्गाबाट संकलन हुने राजस्व ४२ प्रतिशतले वृद्धि भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार असारमा घरजग्गाको कारोबार १३.६८ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको असारमा घरजग्गाको कारोबारबाट ४ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्षको असारमा ६ अर्ब ५५ करोड १७ लाख रुपैयाँ राजस्व उठेको छ । घरजग्गाको कारोबारमा सुधार आएपछि राजस्वमा पनि वृद्धि देखिएको हो ।

विगत ४ वर्षदेखि घरजग्गाको व्यापार सुस्त देखिएपनि छ । यस वर्ष जेठसम्म पनि घरजग्गको कारोबार सुस्त नै थियो । तर, असारमा भने कारोबार ह्वात्तै बढेको छ । असारमा किन कारोबार एक्कासि बढ्यो भन्नेबारे स्वयंम रियलस्टेट व्यवसायी नै चकित परेका छन् । सामान्यतया यस वर्षको जेठ महिनासम्म सुस्त नै रहेको घरजग्गाको कारोबार असार महिनामा भएको ह्वात्तै बढेको देख्दा आफू अचम्ममा परेको नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्व अध्यक्ष भेषराज लोहनी बताउँछन् ।

असार महिनामा विशेषगरी हिसाब मिलान गर्नुपर्ने, ऋण तिर्न घरजग्गा बिक्री गर्नुपर्ने अवस्था लगायतका विविध कारणले कारोबार तथा राजस्व वृद्धि भएको उनको भनाई छ । तर, कारोबार र राजस्व जुन किसिमले वृद्धि भएको छ त्यो अनुसार बजार चलायमान भएको भने नदेखिएको उनले बताए ।

यसैगरी, यस वर्षको असारमा घरजग्गा सम्बन्धी कारोबार १ लाख ५४ हजार ७२० पटक भएको छ । जसमध्ये ५५ हजार ५२४ पटक लिखत पारित भएको छ । गत वर्षको असारमा १ लाख ३६ हजार ९३ पटक कारोबार भएकोमा ४६ हजार १७९ पटक लिखत पारित भएको थियो । जुन १३.६८ प्रतिशतको वृद्धि हो ।

लोहनीका अनुसार असारमा एक महिना कारोबार ह्वात्तै बढे पनि समग्र एक वर्षको तुलना गर्दा सामान्य रुपमा मात्रै वृद्धि देखिएको छ । त्यसैले यस क्षेत्र चलायमान भइसकेको अवस्था भने नरहेको उनको दाबी छ ।

1

Scroll to Top