नेपालको स्न्याक्स बजारलाई नयाँ स्तरमा पुर्याउने उद्देश्यसहित चौधरी ग्रुपले भारतको अग्रणी स्न्याक्स ब्रान्ड बिकाजी फुड्ससँग रणनीतिक साझेदारी गरेको छ ।
चौधरी ग्रुप र बिकाजी फुड्स इन्टरनेशनल लिमिटेड बीच भएको ५०–५० प्रतिशत साझेदारीमा आधारित यो सम्झौतामार्फत भुजिया, नमकीन, पापड र प्याकेज्ड मिठाईजस्ता प्रिमियम गुणस्तरका बिकाजीका परिकारहरू नेपालमै उत्पादन हुनेछन् ।
नेपालमै अत्याधुनिक उत्पादन फ्याक्ट्री स्थापना गर्न दुवै कम्पनीले पूँजी संयुक्त रूपमा लगानी गर्ने भएकाले उत्पादन छिट्टै सुरु हुने र बजारमा उपलब्ध हुने दुवै कम्पनीहरुले विश्वास लिएका छन् ।
सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले यस साझेदारीले चौधरी ग्रुपको नेपालमा विश्वस्तरीय नयाँ ब्राण्ड विस्तार गर्ने योजनामा थप मद्दत पुगेको बताए ।
“यसले रोजगारी सिर्जना गर्ने, आपूर्ति श्रृंखलालाई सुदृढ बनाउने र खाद्य उद्योगलाई गतिशील बनाउन मद्दत गर्नेछ। हामी भारतका विविध स्वादलाई नेपालीहरूको दैनिक जीवनको सहज हिस्सा बनाउने लक्ष्यमा छौँ,” चौधरीले भने ।
त्यस्तै, बिकाजी फुड्स इन्टरनेशनलका प्रबन्ध निर्देशक दीपक अग्रवालका अनुसार नेपाल एक रणनीतिक बजार हो र यो सम्झौता बिकाजीको विश्वव्यापी विस्तार यात्रामा महत्वपूर्ण उपलब्धि समेत हो ।


