Banijya News

ट्रेजरी बिल खरिदकालागि बैङ्कहरूबिच उच्च प्रतिस्पर्धा

1
1.1K Shares

पछिल्लो समयमा जारी भएका ट्रेजरी बिल खरिदका लागि उच्च प्रतिस्पर्धा देखिएको छ । बैंकहरुमा प्रशस्त तरलता रहेकाले पनि ट्रेजरी बिल खरिदमा बैंकहरुबीच उच्च प्रतिस्पर्धा देखिएको हो ।

ट्रेजरी बिल खरिदका लागि उच्च प्रतिस्पर्धा हुँदा डिस्काउन्ट रेट पनि घटेको छ । अहिले सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ । पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले अन्यत्र लगानी विस्तार नहुँदा अल्पकालीन लगानीका उपकरणहरु खरीदमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ । जसले गर्दा ब्याजदर पनि घटेको छ ।

यसैक्रममा, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज साउन १२ गते सोमबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरणका लागि बोलकबोल गर्ने भएको छ। कार्यालयका अनुसार २८ दिन अवधिको ५ अर्ब तथा १८२ दिनको ५ अर्बरुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल हुन लागेको हो। बोलकबोलमा सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्काशन हुने कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिलमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ, जसले गर्दा डिस्काउन्ट रेट पनि घटेको छ । पछिल्लो समय जारी भएका ट्रेजरी बिल खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरुले माग भन्दा झण्डै ८ गुणाबढीसम्म बोल गरेका छन् । यसअघि गत साउन ५ गते बोलकबोल भएको ९१ दिन अवधिको ५ अर्ब २५ करोडको ट्रेजरी बिल खरिदका लागि ४१ अर्ब ५४ करोड बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.६५ प्रतिशत कायम भएको थियो ।

ट्रेजरी बिलको डिस्काउन्ट रेट ३ प्रतिशतभन्दा पनि तल झरेपछि प्रतिस्पर्धा झनै बढेको देखिन्छ । अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त छ । अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्दा बैंकहरुले सरकारी ऋणपत्रमै लगानी गरेर भए पनि आम्दानी गर्न खोजिरहेका छन्, जसले गर्दा अल्पकालीन ब्याजदरहरु समेत घट्दै गएका हुन् ।

आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग अझै बढ्न सकेको छैन । रेमिट्यान्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार भइरहेको छ । निक्षेप बढे बमोजिम कर्जा लगानी नहुँदा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन ८ गतेसम्म वित्तीय प्रणालीमा ६७ अर्ब ६६ करोड २५ लाख रुपैयाँ अधिक तरलता छ । अधिक तरलता व्यवस्थापन गर्न बैंकहरुले आइतबार मात्रै २ खर्ब ७१ अर्ब २० करोड स्थायी निक्षेप सुविधा एसडीएफ उपयोग गरेका थिए । उक्त उपकरणमा लगानी गर्दा बैंक वित्तीय संस्थाले २.७५ प्रतिशत ब्याज पाउने गरेका छन् ।

यस्तै आइतबार नै राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब माग गर्दा बैंकहरुले ४१ अर्ब १० करोड जम्मा गरेका छन । यस दिनको निक्षेप संकलनको औसत ब्याजदर २.७४ प्रतिशत कायम भएको छ । साउन महिना लागेपछि मात्रै राष्ट्र बैंकले निक्षेप संकलन मार्फत वित्तीय प्रणालीबाट १ खर्ब ६९ अर्ब ३५ करोड अधिक तरलताको खिचेको छ । प्रणालीमा अधिक तरलताको अवस्था बढ्दै गएपछि बैंकहरुले पनि अल्पकालिन उपकरणहरुमा लगानी बढाउँदै लगेका छन्।

पछिल्लो तथ्यांक अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा ७२ खर्ब ४५ अर्ब बराबर निक्षेप रहेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा ९० प्रतिशतसम्म ऋण दिन पाउँछन् । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५५ खर्ब ६३ अर्ब रुपैयाँ छ । उल्लिखित तथ्यांकका आधारमा बैंक तथा वित्तीय संस्थामा ९ खर्ब ५७ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखिन्छ ।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत नीतिगत दर घटाउनुका साथै घरजग्गा, शेयर, गाडीलगायत क्षेत्रमा कर्जा प्रवाहको नीतिमा पुनरवलोकन गरिसकेको छ । बैंकहरूले ब्याजदर घटाउँदै लगेका छन् । तैपनि कर्जा प्रवाह अपेक्षाकृत बढ्न सकेको छैन । अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्दा बैंकहरुले सरकारी ऋणपत्रमै लगानी गरेर भए पनि आम्दानी गर्न खोजिरहेका छन्, जसले गर्दा अल्पकालीन ब्याजदरहरु समेत घट्दै गएका हुन् ।

1

Scroll to Top