हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९ करोड १७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म २० लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने खुद नाफा गरेको हो । इम्पेरमेन्ट चार्ज वापत्को रकम ३० लाख रुपैयाँभन्दा बढी फिर्ता आउनु र कुल सञ्चालन आम्दानी करिब ५३ प्रतिशत बढ्नुले गत वर्ष कम्पनीको खुद नाफा सकारात्मक बनेको देखिन्छ ।
कम्पनीको वितरणयोग्य नाफा पनि ६ करोड ३१ लाख रुपैयाँभन्दा बढी रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा २२ लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । हाल यस कम्पनीको चुक्तापूँजी ३१ करोड ९८ लाख रुपैयाँभन्दा बढी र जगेडा कोष रकम ११ करोड ९२ लाख रुपैयाँभन्दा बढी कायम छ । कम्पनीले गत चौथो त्रैमाससम्म १ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी निक्षेप संलकन गरेको छ भने ४ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
अघिल्लो वर्ष ३ दशमलव ४९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ५ दशमलव ३३ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २८ रुपैयाँ ७० पैसा कायम रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १६ पैसा छ ।


