आर्थिक वर्ष २०८१/८२ मा नेपालको व्यापार घाटा १५ खर्ब २७ अर्ब पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार यस आर्थिक वर्षमा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँको वस्तु आयात गरेको छ भने निर्यात मात्र २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँमा सीमित छ । नेपालले १६३ मुलुकसँग व्यापार गरेकोमा ३७ मुलुकसँग मात्र नाफा कमाएको छ भने बाँकी १२६ मुलुकसँग व्यापार घाटा छ ।
भारतसँगको व्यापारमा सबैभन्दा बढी घाटा रहेको छ । नेपालले भारतबाट १० खर्ब ७१ अर्ब १९ करोड ८९ लाख रुपैयाँको वस्तु आयात गरेको छ भने भारतमा २ खर्ब २४ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ मात्र निर्यात गरेको छ । यसरी भारतसँग ८ खर्ब ४६ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ । यस्तै चीनसँग पनि ३ खर्ब ४१ अर्ब १० करोड ४५ लाख रुपैयाँको आयात विरुद्ध २ अर्ब ६३ करोड रुपैयाँ मात्र निर्यात गरेकोले ३ खर्ब ३८ अर्ब रुपैयाँको घाटा रहेको छ ।
केही मुलुकसँग नेपालले नाफा कमाएको छ । अफगानिस्तानबाट ८ करोड ४२ लाख ९७ हजार रुपैयाँको आयात विरुद्ध ७७ करोड ४ लाख १५ हजार रुपैयाँ निर्यात गरेकोले ६९ करोड रुपैयाँ नाफा कमाएको छ । यस्तै डेनमार्कसँग पनि ३६ करोड २६ लाख २२ हजार रुपैयाँको आयात विरुद्ध ७० करोड १५ लाख ३६ हजार रुपैयाँ निर्यात गरेकोले ३४ करोड रुपैयाँ नाफा रहेको छ ।


