पेट्रोलियम निर्यातक देशहरूको संघ (ओपेक) र यसका सहयोगी देशहरू (ओपेक प्लस)ले आगामी सेप्टेम्बर महिनादेखि दैनिक ५ लाख ४८ हजार ब्यारेल कच्चा तेल उत्पादन बढाउने निर्णय गरेका छन् । यसले विश्व बजारमा तेलको आपूर्ति बढ्ने र मूल्यमा गिरावट आउन सक्ने विश्लेषकहरूको अनुमान छ ।
गत जुलाईमा ४ लाख ११ हजार ब्यारेल उत्पादन बढाएपछि यो दोस्रो चरणको उत्पादन वृद्धि हो । ओपेक प्लसले उत्पादन कटौती योजना क्रमिक रूपमा समाप्त गर्ने नीति अघि सारेको छ ।
साउदी अरब, रूस, इराक, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, कजाकिस्तान, अल्जेरिया र ओमान लगायत सदस्य देशहरूको भर्चुअल बैठकपछि यो निर्णय सार्वजनिक गरिएको हो ।
ओपेकले जारी गरेको विज्ञप्तिमा विश्व अर्थतन्त्र स्थिर रहेको र तेल स्टक सीमित भएको हुँदा बजार अनुकूल रहेको बताएको छ । तर बजारमा अस्थिरता आएमा उत्पादन वृद्धि फेरि समायोजन गर्न सकिने संस्थाको जनाइ छ ।
ओपेकको पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको सङ्गठन हो । ओपेकको मुख्य उद्देश्य सदस्य राष्ट्रहरू बीच सहकार्य गर्दै विश्व बजारमा कच्चा तेल (पेट्रोलियम)को मूल्य स्थिर राख्नु, तेलको आपूर्तिमा सन्तुलन कायम गर्नु र सदस्य राष्ट्रहरूको आर्थिक हितको रक्षा गर्नु हो।
ओपेकले विश्व बजारको मागअनुसार उत्पादनको मात्रा घटाउने वा बढाउने नीति अपनाएर अन्तर्राष्ट्रिय तेल मूल्यमा सन्तुलन ल्याउने प्रयास गर्दछ ।


