Banijya News

सेयर बजारमा आज झिनो अंकको वृद्धि, कारोबार ७ अर्ब माथि

1
1.1K Shares

साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०८ प्रतिशत अर्थात २.३५ अंकले बढेर २ हजार ८३६.३५ विन्दुमा पुगेको छ ।


यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०६ प्रतिशतले घटेर ४५८.१३ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता सेयर ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

अघिल्लो दिन भने ९ अर्ब ३३ करोड बढीको कारोबार भएको थियो । यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने ८ वटा समूहमा रातो पोतियो । लघुवित्त समूह आज सर्वाधिक अर्थात १.३४ प्रतिशतले बढ्यो । लगानी समूह पनि आज ०.५३ प्रतिशत,अन्य ०.६३ र व्यापार समूह ०.२२ प्रतिशतले बढ्यो ।

जीवन बीमा समूह आज सर्वाधिक अर्थात ०.३९ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३२ प्रतिशत, विकास बैंक ०.३६, फाइनान्स ०.३१, होटल ०.०९, हाईड्रो ०.०४, उत्पादन तथा प्रशोधन ०.०४ र निर्जीवन बीमा समूह ०.२४ प्रतिशतले घट्यो ।

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २९ करोड ४५ लाख बढीको सेयर कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज २८ करोड २ लाख, शिवम् सिमेन्टको २४ करोड १९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड ८४ लाख र बलेफि हाईड्रोको २३ करोड २० लाख बढीको सेयर कारोबार भयो ।

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त,महुली लघुवित्त र ट्रेड टावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

समाज लघुवित्तको सेयरमूल्य पनि आज ७.९३ प्रतिशत, स्वाभिमान लघुवित्तको ७.८३ र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ६.५८ प्रतिशतले बढ्यो ।

थ्री स्टार हाईड्रोको सेयरमूल्यमा आज सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य आज ३.७८ प्रतिशतले घट्यो । समता घरेलु लघुवित्तको सेयरमूल्य पनि आज २.७२ प्रतिशत र युनिभिलर नेपालको सेयरमूल्य २.७१ प्रतिशतले घट्यो ।

1

Scroll to Top