गोरखामा बन्ने तीन सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् (पिआरओआर) परियोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर)मा सम्झौता भएको छ । ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० बैंक तथा वित्तीय संस्थाले कन्सोर्टियम (संयुक्त) मोडलमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी जुटेको हो ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमबिच प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी र बैंक तथा वित्तीय संस्थाबिच ऋण लगानी सम्झौता भएको हो । सम्झौतापत्रमा टाइम्स इनर्जीका सञ्चालक सुशील थापा र नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।
यस परियोजनामा ऋण लगानी गर्ने मामिलामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेतृत्व गर्नेछ, उक्त बैंकले १० अर्ब रुपैयाँ ऋण दिनेछ । सहनेतृत्व गर्ने बैंकहरू नबिल बैंकले आठ अर्ब, लक्ष्मी सन्राइज बैंकले आठ अर्ब र ग्लोबल आइएमई बैंकले सात अर्ब रुपैयाँ ऋण दिनेछन् ।
यसैगरी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले चार अर्ब, माछापुच्छ«े बैंकले चार अर्ब, सिटिजन्स बैंकले तीन अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले तीन अर्ब, प्रभु बैंकले तीन अर्ब र कृषि विकास बैंकले दुई अर्ब ५० करोड रुपैयाँ सदस्यका रूपमा ऋण लगानी गर्नेछन् । परियोजनाको ऋण भुक्तानी अवधि पाँच वर्ष चार महिना तोकिएको छ ।
टाइम्स इनर्जीले परियोजना निर्माण तथा विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट पुस ०८० मै अनुमतिपत्र ल्याइसकेको छ । परियोजनाको विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) पनि भइसकेको छ । अहिले पूर्वतयारी तथा पूर्वनिर्माणका काम भइरहेको आयोजनालाई छिट्टै अघि बढाउने कम्पनीले जनाएको छ । सिभिल निर्माणलगायतका मुख्य काम भने भदौबाट सुरु गर्ने तयारी छ । १५ पुस ०८७ सम्म परियोजना सञ्चालनमा ल्याउने कम्पनीको लक्ष्य छ ।
७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनामा ७५ प्रतिशत लगानी ऋणमार्फत जुटाइएको हो । बाँकी २५ प्रतिशत लगाानी अर्थात् १७ अर्ब ५० करोड रुपैयाँ भने प्रवर्द्धक कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्नेछन् । टाइम्स इनर्जीमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर स्वामित्व छ । तीन सय ४१ मेगावाटको यो परियोजना प्रतिमेगावाट २० करोड ५३ लाख रुपैयाँमा बन्नेछ । नेपालमा परियोजना लागत प्रतिमेगावाट औसत २० करोडभन्दा बढी नै छ । तर, कतिपय परियोजनाको लागत प्रतिमेगावाट ३० करोड रुपैयाँभन्दा माथि पनि हुने गरेको छ, त्यो अवस्थामा यो लागत सस्तो भएको कम्पनीको दाबी छ ।
प्राधिकरणसँग परियोजनाको विद्युत् खरिद सम्झौता ३० वर्षका लागि गरिएको छ । वर्षायामका लागि ४.८० रुपैयाँ, सामान्य सुक्खायामका लागि ८.४० रुपैयाँ र मुख्य सुक्खायामका लागि १०.५५ रुपैयाँ प्रतियुनिटमा सम्झौता गरिएको छ । परियोजनाबाट वर्षा याममा १३०४.०४ गिगावाट, सामान्य सुक्खायाममा २४३.४३ मेगावाट र मुख्य सुक्खायाममा ३२०.३० गिगावाट विद्युत् उत्पादन हुनेछ । यसले पनि परियोजनामा प्रतिफलको सम्भावना उच्च देखाएको उनले बताए । आयोजनाको लगानी प्रतिफल १६.९९ प्रतिशत हुने अनुमान गरिएको छ । सम्भाव्यता अध्ययनअनुसार आयोजना सञ्चालनमा आएको साढे पाँच वर्षमा साधारण लगानी फिर्ता गर्न सकिनेछ । अहिले नै परियोजनाको खुद मूल्यांकन २३ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।
अर्धजलाशय प्रकृतिको यो परियोजना गोरखा जिल्लामा बन्नेछ । यो परियोजना काठमाडौंबाट एक सय ७० किमि दूरीमा हुनेछ । परियोजनाको बाँध क्षेत्र चुमनुब्री गाउँपालिकाको वडा नं ३ र विद्युत्गृह धार्चे गाउँपालिकाको वडा नं ३ मा हुनेछ । पावरहाउस भने भूमिगत हुनेछ ।
आयोजनामा तीन सय ९८ मिटर लामो हेड (पानी खस्ने उचाइ), ६.९ किलोमिटर लामो सुरुङ, ५६.८ मेगावाट क्षमताको ६ टर्बाइन हुनेछ । ड्याममा १७ लाख ६० हजार घनमिटर पानी भण्डारण हुनेछ । त्यसबाट दैनिक ६ घण्टासम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिनेछ । आयोजनाबाट वार्षिक औसत १८६७.७७ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । कम्पनीका अनुसार मुख्य सुक्खायाममा ३२०.३० गिगावाट, सामान्य सुक्खायाममा २४३.४३ मेगावाट र वर्षा याममा १३०४.०४ गिगावाट विद्युत् उत्पादन छ । आयोजनाको डिजाइन डिस्चार्ज १००.२५ घनमिटर प्रतिसेकेन्ड छ ।


