सर्वसाधारणको लगानी रहेको अपी पावर कम्पनी लिमिटेडले ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना बनाउने भएको छ । अपी पावरले दिव्य ज्योति हाइड्रोपावरले प्रवर्द्धन गरिरहेको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना एक्वायर (प्राप्ति) गर्ने भएको छ । आयोजना लमजुङ जिल्लामा पर्छ ।
अपी पावरको मंगलबार बसेको सञ्चालक समितिको बैठकले मर्स्याङ्दी बेसी आयोजना प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो ।
दिव्य ज्योतिले विकास गरिरहेको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाको आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट सम्भाव्य देखिएकाले दिव्य ज्योति हाइड्रोपावरलाई प्राप्ति गर्ने निर्णय गरिएको कम्पनी सचिव सुजन अधिकारीले बताएका छन् ।
“दिव्य ज्योतिमा विद्यमान सेयरधनीहरूको सबै सेयर खरिद गरी कम्पनी व्यवस्थापन पूर्णरूपमा अपी पावरको स्वामित्वमा रहने गरी कम्पनी सञ्चालन गर्ने निर्णयसमेत गरियो,” कम्पनी सचिव अधिकारीले भनेका छन् ।
यसैगरी, अपी पावरले दिव्य ज्योति हाइड्रोपावर प्राप्ति गर्न पूर्ण अधिकारसहित कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेलाई दुवै पक्षबीच गर्ने करारनामाको मस्यौदा तथा सर्तहरू निर्धारण गर्ने तथा करारनामामा हस्ताक्षर गर्ने अख्तियारी प्रदान गर्ने निर्णय सञ्चालक समितिले गरेको छ ।
अपीले अहिलेसम्म जलविद्युत् र सौर्य ऊर्जा गरी आधा दर्जन आयोजना सम्पन्न गरी ६२.५ मेगावाट बिजुली उत्पादन गरिरहेको छ । अपीले ४० मेगावाटको माथिल्लो चमेलिया, ८.५ मेगावाटको नौगाड, ८ मेगावाटको अपर नौगाडका साथै ४ मेगावाटको चन्द्रपुर सोलार, एक/एक मेगावाटको ढल्केबर र सिमरा सोलार परियोजनाबाट ऊर्जा उत्पादन गरिरहेको छ । मर्स्याङ्दी आयोजना सम्पन्न भएपछि अपीको विद्युत उत्पादन क्षमता बढेर ११२ मेगावाट पुग्नेछ ।
गत आर्थिक वर्षको चैतसम्म अपीले ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको छ । नौ महिनामा अपीले एक अर्ब १९ करोड रुपैयाँ बराबरको बिजुली नेपाल विद्युत् प्राधिकरणलाई बेचेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ७.७६ रुपैयाँ छ भने नेटवर्थ १०९ रुपैयाँ रहेको अपीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । अपीको चुक्ता पुँजी छ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।


