Banijya News

‘वाइवा–सलार जेभी’ले पौने ११ अर्ब लागतमा चार सय केभीको प्रसारणलाइन बनाउने

1
1.3K Shares

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदानअन्तर्गत बन्ने ९० किलोमिटर लामो चार सय केभीको न्यु दमौली–न्यू बुटवल प्रसारणलाइन वाइवा–सलार जेभीले पौने ११ अर्ब लागतमा निर्माण गर्ने भएको छ । नेपालको वाइवा–सलार जेभीले सात करोड ७० लाख ३० हजार अमेरिकी डलरमा उक्त परियोजना निर्माणको ठेक्का पाएको हो ।

एमसिसीका परियोजनाको निर्माणतर्फ नेपाली कम्पनीले हात पारेको यो नै पहिलो ठेक्का हो । यसअघि एक प्रसारणलाइन र तीन सबस्टेसन निर्माणमा भएको ठेक्का विदेशी कम्पनीले पाएका छन् । मंगलबारको विनिमिय दर (प्रतिडलर १४०.५६ रुपैयाँ)अनुसार वाइवा–सलारले १० अर्ब ८२ करोड ७३ लाख रुपैयाँमा उक्त परियोजना बनाउनेछ ।

यो परियोजना निर्माणका लागि चार कम्पनी प्रतिस्पर्धामा थिए । भारतको ट्रान्सरेल लाइटिङले १० करोड १४ लाख २८ हजार डलर र एन्जेलिक–स्किपर जेभीले सात करोड ८९ लाख १६ हजार डलरमा काम गर्ने गरी टेन्डर हालेका थिए । भारतकै केइसी इन्टरनेसनलले वित्तीय प्रस्ताव उल्लेख नगरी टेन्डर पेस गरेको थियो । नेपाली स्वामित्वको वाइवा–सलार जेभीले भने सबैभन्दा कम अर्थात् सात करोड ७० लाख २६ हजार डलरमा काम गर्ने गरी टेन्डर पेस गरेको थियो । प्राविधिक रूपमा समेत उत्तीर्ण भएपछि कम्पनीले यो ठेक्का पाएको हो ।

आउँदो बिहीबार (२९ साउनमा) काठमाडौंमा एक समारोहबिच ठेक्का सम्झौता गर्ने तयारी छ । बिहीबार नै थप अर्काे प्रसारणलाइन निर्माणका लागि पनि ठेक्का सम्झौता हँुदै छ । ९० किमि लामो चार सय केभी क्षमताको रातमाटे–न्यु दमौली प्रसारणलाइन निर्माणका लागि भारतको एन्जेलिक–स्किपर जेभी छनोट भएको छ । उक्त कम्पनीसँग सात करोड ७४ लाख ८० हजार डलरमा ठेक्का सम्झौता गर्न लागिएको छ ।

एमसिसी अनुदानमा चार सय केभीका चार सय १५ किमि लामा चार प्रसारणलाइन बन्दै छन् । त्यसको निर्माणका लागि पहिलोपटक १२ मंसिर ०७९ देखि ७ जेठ ०८० सम्म ग्लोबल टेन्डर आह्वान गरिएको थियो । त्यसमा कम्पनीहरूले प्रस्ताव गरेको न्यूनतम वित्तीय प्रस्ताव अनुमानित लागतभन्दा ६६ प्रतिशत महँगो भएपछि २६ असोज ०८० मा उक्त टेन्डर रद्द गरेको थियो । त्यसपछि यसको डिजाइन परिवर्तन गरेर लागत घटाइएको थियो ।

१८ किलोमिटर लामो चार सय केभी क्षमताको ‘न्यु बुटवल–नेपाल/भारत सीमा’ प्रसारणलाइन बनाउन भने १४ भदौ ०८० मा भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ । एक करोड २३ लाख ६० हजार डलरमा कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । त्यसपछि बाँकी दुई सय ९७ किमि प्रसारणलाइन निर्माणका लागि १२ मंसिरदेखि ७ फागुनमा टेन्डर आह्वान गरिएको थियो । त्यसमा आवश्यक प्रक्रिया पूरा गरेर दुई प्रसारणलाइनको ठेक्का सम्झौता गर्न लागिएको हो ।

1

Scroll to Top