निर्जीवन बीमा कम्पनीहरुले गत आवको अन्त्यसम्म ४ अर्ब ७० करोड १३ लाख रुपैयाँ नाफा कमाएका छन् । बीमकहरुको यो नाफा अघिल्लो आवको तुलनामा ५.७९ प्रतिशत कम हो । अघिल्लो आवमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका थिए ।
गत आवमा ५ कम्पनीको नाफा अघिल्लो आवको तुलनामा घटेको छ भने ७ कम्पनीको नाफामा सुधार देखिएको छ । सबैभन्दा बढी नाफा कमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले ७१ करोड ३१ लाख रुपैयाँ नाफा कमाएर सबैभन्दा बढी नाफा कमाउने कम्पनी बन्न सफल भएको छ ।
यो नाफा अघिल्लो आवको तुलनामा ३.६३ प्रतिशत बढी हो । त्यस्तै, नेको इन्स्योरेन्सले ५५ करोड ८ लाख, हिमालयन एभरेष्टले ५३ करोड २३ लाख, शिखरले ४५ करोड २७ लाख, राष्ट्रिय बीमा कम्पनीले ४२ करोड ७६ लाख, सगरमाथा लुम्बिनीले ४० करोड ३२ लाख, आइजीआई प्रुडेन्सियलले ३६ करोड ४९ लाख, सानिमा जिआइसीले ३५ करोड ३ लाख, नेपाल इन्स्योरेन्सले ३१ करोड ६४ लाख, युनाइटेड अजोडले २१ करोड ६४ लाख, प्रभु इन्स्योरेन्सले २१ करोड १९ लाख र एनएलजीले १६ करोड ११ लाख रुपैयाँ नाफा कमाएका छन् ।
अघिल्लो आवको तुलनामा गत आवमा सबैभन्दा बढी नाफा ग्रोथ गर्नेमा प्रभु इन्स्योरेन्स रहेको छ । प्रभु इन्स्योरेन्सले ३९.२४ प्रतिशतले नाफा बढाएको छ । त्यस्तै, सबैभन्दा नाफा घट्ने कम्पनीमा भने राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको नाफा ३१.८३ प्रतिशतले घटेको छ ।


