भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो–२०२५ मा अटो लोन स्किममा बैंकहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। भदौ ८ गतेसम्म चल्ने प्रदर्शनीमा आठ वटा बैंकले आफ्ना स्टल राख्दै विभिन्न ब्याजदर र योजनासहित गाडी कर्जा अफर सार्वजनिक गरेका छन्।
नबिल, हिमालयन, ग्लोबल आइएमई, एनएमबि, लक्ष्मी सनराइज, कृषि विकास, सानिमा र नेपाल एसबिआइ बैंकले प्रदर्शनीमै उपभोक्तालाई आकर्षित गर्ने योजनासहित अटो लोन प्रवाह थालेका हुन्। बैंकहरूले न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८.९९ प्रतिशतसम्म ब्याजदर तोकेर कर्जामा प्रतिस्पर्धा चर्काएका छन्।
एनएमबि बैंकले व्यक्तिगत सवारी कर्जामा ७.१३ प्रतिशत ब्याजदर कायम गरेको छ। ग्लोबल आइएमई बैंकले सेवा शुल्क घटाउँदै ६.९९ प्रतिशत ब्याजदरमा गाडी कर्जा उपलब्ध गराएको छ। नबिल बैंकले भने बेसरेट प्लस १ प्रतिशत गरी ६.७४ प्रतिशत ब्याजदरमा सात वर्षसम्म कर्जा दिने जनाएको छ।
हिमालयन बैंकले ७.५ प्रतिशत ब्याजदरमा आठ वर्षका लागि गाडी कर्जा दिने योजना ल्याएको छ। बैंकले मूल्यको ६० प्रतिशतसम्म फाइनान्सिङ गर्ने र किस्ता (EMI) दबाब कम गर्ने दाबी गरेको छ।
लक्ष्मी सनराइज बैंकले ७ वर्षका लागि स्थिर ब्याजदर ७.९९ प्रतिशत तोकेको छ। यो योजना आगामी मंसिर १४ गतेसम्म लागू हुनेछ। नेपाल एसबिआइ बैंकले भने तीन फरक अवधि अनुसार ब्याजदर तोकेको छ—३ वर्षका लागि ७.९९, ५ वर्षका लागि ८.४९ र ७ वर्षका लागि ८.९९ प्रतिशत।
सरकारी स्वामित्वको कृषि विकास बैंकले विद्युतीय गाडीमा मूल्यको ६० प्रतिशत र व्यावसायिक गाडीमा ८० प्रतिशतसम्म कर्जा दिने योजना ल्याएको छ। यस बैंकले ६.२३ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराइरहेको छ।
सानिमा बैंकले ५ वर्षका लागि ७.१५ प्रतिशत र ७ वर्षका लागि ८.१५ प्रतिशत ब्याजदरमा गाडी कर्जा दिने जनाएको छ।
गाडी कर्जा लिन इच्छुकले आवेदक र जमानीकर्ताको नागरिकता, पासपोर्ट साइज फोटो, पछिल्लो एक वर्षको बैंक खाता विवरण, सवारी साधनको कोटेसन अनिवार्य पेश गर्नुपर्नेछ। पुरानो सवारीमा ऋण लिन इच्छुकले ब्लुबुकको प्रतिलिपि, फोटो, मूल्याङ्कन प्रतिवेदन र आय विवरण बुझाउनुपर्ने व्यवस्था छ।
त्यस्तै, जग्गा वा अपार्टमेन्ट धितो राख्नेले लालपुर्जा, आयस्रोत प्रमाण, व्यवसाय दर्ता प्रमाणपत्र, प्यान/भ्याट नम्बर बुझाउनुपर्नेछ। संस्थागत आवेदकका लागि प्रबन्धपत्र, नियमावली, सञ्चालक समितिको निर्णय, साझेदारी सम्झौता र अघिल्ला दुई वर्षको लेखापरीक्षण प्रतिवेदन अनिवार्य गरिएको छ।


