चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा समग्र राजस्व संकलन घटेपनि ठूला करदाताबाट आएको योगदान भने वृद्धि भएको छ । ठूला करदाता कार्यालयका तथ्याङ्कअनुसार साउन महिनामा ठूला करदाताबाट २० अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ , जुन गत वर्षको सोही महिनाको तुलनामा २२ प्रतिशतले बढी हो ।
कार्यालयका अनुसार यस अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट) २४ प्रतिशतले बढेर चार अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष साउनमा तीन अर्ब ९१ करोड रुपैयाँ मात्रै संकलन भएको थियो । यस्तै, आयकर संकलन पनि उल्लेख्य बढ्दै नौ अर्ब रुपैयाँ पुगेको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ४५ प्रतिशत बढी हो । तर, ब्याजकर भने घटेको छ । यस वर्ष साउनमा चार अर्ब ८६ करोड रुपैयाँ मात्र संकलन भएको छ, अघिल्लो वर्षको सोही अवधिमा पाँच अर्ब २६ करोड रुपैयाँ संकलन भएको थियो ।
समग्र राजस्व हेर्दा भने साउनमा ८४ अर्ब ७८ करोड रुपैयाँ मात्र संकलन भएको छ । गत आवको सोही अवधिमा ९४ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यसमध्ये कर राजस्व ८० अर्ब ९८ करोड रुपैयाँ संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब चार अर्ब बढी हो ।
तर, गैरकर राजस्वमा तीव्र गिरावट आएको छ । चालु आवको साउनमा तीन अर्ब ८० करोड रुपैयाँ मात्रै गैरकर राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १७ अर्ब ३३ करोड रुपैयाँभन्दा ७८ प्रतिशत कम हो । यस अवधिमा ४२ करोड रुपैयाँ अनुदान र ३० करोड रुपैयाँ अन्य प्राप्ति भएको छ । गत वर्षको साउनमा अन्य प्राप्ति मात्र दुई अर्ब २१ करोड रुपैयाँ पुगेको थियो ।


