जुम्लामा पछिल्ला वर्षहरूमा उत्पादनमूलक उद्योग खारेज हुने क्रम तीव्र बन्दै गएको छ। अनुदान वितरणमा कडाइ भएपछि यस्ता उद्योगहरू बन्द हुने दर बढेको हो। रोजगारी सिर्जना, आर्थिक समृद्धि र स्थानीय उत्पादनको प्रशोधन तथा बजारीकरण गर्ने उद्देश्यसहित दर्ता भएका उद्योगहरू अनुदानमा भर पर्न थालेपछि दीर्घकालीन रूपमा टिक्न नसकेको देखिएको छ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका तथ्यांकअनुसार हालसम्म ८२५ वटा उत्पादनमूलक उद्योग खारेज भइसकेका छन्। कार्यालय प्रमुख मन्दिरनाथ योगीका अनुसार अनुदान पाउन छाडेपछि उद्योग बन्द हुने प्रवृत्ति तीव्र बनेको छ। उनका अनुसार कूल दर्ता उद्योगमध्ये एक हजार ५३५ वटा उद्योग कानुनी रूपमा खारेज नभए पनि लामो समयदेखि बन्द अवस्थामा रहेका छन्।
आर्थिक वर्ष २०८०/८१ मा ८१ उत्पादनमूलक उद्योग खारेज भएका थिए भने २०८१/८२ मा यो संख्या बढेर ८२५ पुगेको छ। हालसम्म जुम्लामा कूल ७ हजार ६८२ वटा उद्योग दर्ता भएका छन्। यसमध्ये उत्पादनतर्फ ४ हजार ४१७ र वाणिज्यतर्फ ३ हजार २६५ उद्योग रहेका छन्। तर अहिले सञ्चालनमा रहेका उद्योग ६ हजार १४७ मात्र छन्। उत्पादनतर्फका उद्योगमध्ये ३ हजार ६९ सञ्चालनमा छन् भने १ हजार ३४८ बन्द भएका छन्। त्यस्तै, वाणिज्यतर्फका ३ हजार ७८ उद्योग सञ्चालनमा र १८७ बन्द अवस्थामा रहेका छन्।
संघीयता कार्यान्वयनको सुरुवाती चरणमा सहज रूपमा अनुदान वितरण गरिँदा उद्योग दर्तामा उत्साह देखिएको थियो। तर पछिल्ला वर्षमा वास्तविक उद्यमीभन्दा नक्कली उद्यमीले बढी अनुदान पाएको गुनासो बढेपछि सरकारले कडाइ गरेसँगै खारेज हुने क्रम बढेको कार्यालयले जनाएको छ।
उद्योगी नारायणी चौलागाँईले अनुदान वितरणमा पारदर्शिता नहुँदा वास्तविक उद्यमी संकटमा परेको बताइन्। उनका अनुसार कसैले दोहोरिँदो रूपमा अनुदान पाउने र कसैले एकपटक पनि नपाउने अवस्था रहेको छ। सूचना प्रसारण नहुँदा टाठाबाठामात्र लाभान्वित हुने र जुम्लाको औद्योगिक विकास चुनौतीमा परेको उनको भनाइ छ।
यसरी अनुदान–निर्भर प्रवृत्तिका कारण जुम्लामा उत्पादनमूलक उद्योगको संख्या घट्दै गएको छ भने प्रशोधन उद्योगहरू समेत कमजोर अवस्थामा पुगेका छन्।


