Banijya News

कालीगण्डकी गर्ज जलविद्युत् आयोजनामा विशाल र त्रिवेणी ग्रुपको ५१ प्रतिशत स्वामित्व

1
1.2K Shares

दुई ठूला व्यावसायिक समूह विशाल ग्रुप र त्रिवेणी ग्रुपले १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज अर्धजलाशय जलविद्युत् आयोजनाको ५१ प्रतिशत संस्थापक स्वामित्व खरिद गरेका छन् । दुवै समूहले ग्रिन भेन्चर्स लिमिटेडमार्फत आयोजना खरिद गरेका हुन् ।

ग्रिन भेन्चर्सले यसअघि ५२.२ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ । मंगलबार ग्रिन भेन्चर्स र कालीगण्डकी गर्ज हाइड्रोपावरबीच ५१ प्रतिशत सेयर खरिद गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले यसअघि नै उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) प्राप्त गरिसकेको छ ।

लक्ष्मी सन्‌राइज बैंकको नेतृत्वमा विभिन्न बैंकहरूले सहवित्तीयकरणमार्फत वित्तीय व्यवस्थापन पूरा गरेका छन् । आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड रुपैयाँ रहने अनुमान गरिएको छ । लगानी संरचनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी रहनेछ । लक्ष्मी सन्‌राइज बैंकले ९ अर्ब, ग्लोबल आईएमई बैंकले ९ अर्ब, सिद्धार्थ बैंकले ५ अर्ब, हिमालयन बैंक र नेपाल एसबिआई बैंकले ३/३ अर्ब तथा एभरेस्ट बैंकले २ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । बाँकी स्वपुँजी त्रिवेणी, विशाल र व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले जुटाउनेछन् ।

लगानी संरचनाअनुसार त्रिवेणी र विशाल ग्रुपको ५१ प्रतिशत, ज्ञानेन्द्रलाल प्रधानको २५ प्रतिशत स्वामित्व रहनेछ । आयोजनाको सञ्चालक समितिमा सुभासचन्द्र सांघाई, अनुज अग्रवाल र प्रधान रहेका छन् ।

अध्ययनअनुसार आयोजना वार्षिक एक अर्ब पाँच करोड ५५ लाख युनिट विद्युत् उत्पादन गर्नेछ । वर्षायाममा ७१ करोड ७३ लाख युनिट र सुक्खायाममा ३३ करोड ८१ लाख युनिट बिजुली उत्पादन हुने अनुमान गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ । अर्धजलाशयका लागि छुट्टै पीपीए दर तोकिएको छ, जसअनुसार वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ, पिकिङ अवधिमा १०.५५ रुपैयाँ र अन्य समयमा ८.४० रुपैयाँ हुनेछ । यसबाट कम्पनीले वार्षिक सात अर्ब रुपैयाँ आम्दानी गर्ने र १७ प्रतिशत प्रतिफल प्राप्त गर्ने अनुमान गरिएको छ ।

आयोजना २०८६ साल असारदेखि उत्पादनमा ल्याउने लक्ष्य लिएको छ । ६ घण्टा पिकिङ क्षमतासहित डिजाइन गरिएको आयोजनामा ६०–६० मेगावाट क्षमताका तीनवटा टर्बाइन जडान गरिनेछ । पाँच किलोमिटर सुरुङ र ५०० मिटर हेड रहनेछ ।

मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा विद्युत् गृह निर्माण हुने योजना छ । यो आयोजनालाई म्याग्दी जिल्लाको अहिलेसम्मकै ठूलो जलविद्युत् आयोजना मानिएको छ । बेनी बजारबाट करिब २० किलोमिटर टाढा पर्ने आयोजना म्याग्दीको दाना सबस्टेसनसँग १ किलोमिटर प्रसारण लाइनमार्फत जोडिनेछ ।

त्रिवेणी र विशाल ग्रुपले लिखु–४ आयोजना सञ्चालनमा ल्याइसकेका छन् भने हालै मात्र ८२ मेगावाट क्षमताको तल्लो सोलु आयोजनाबाट उत्पादन सुरु गरेका छन् । यी समूहले जलविद्युत् क्षेत्रमा लगानी विस्तारसँगै सिमेन्ट, खाद्य तेल, मदिरा आयातलगायत विभिन्न उद्योग व्यवसायसमेत सञ्चालन गर्दै आएका छन् ।

1

Scroll to Top