Banijya News

नेपालीलाई विदेशमा लगानी गर्ने वातावरण बनाउँदै राष्ट्र बैङ्क, के हुन्छ उपलब्धि ?

1
1.3K Shares

सरकारले नेपाली लगानीकर्तालाई विदेशमा लगानी खुला गर्ने कानुन निर्माण अघि बढाएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको विदेशमा लगानी खुला गर्ने व्यवस्थासहितको नयाँ विदेशी विनिमय ऐनको अवधारणा र प्रारम्भिक मस्यौदा अर्थ मन्त्रालयमा पुगेको छ ।

गत २२ जेठमा ऐन तर्जुमाका लागि मन्त्रिपरिषद्ले सिद्धान्त (अवधारणापत्र) स्वीकृति दिएको थियो । सोहीअनुसार केन्द्रीय बैंकले ऐनको मस्यौदा तयार पारेर अर्थमा पठाएको केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए । उनले भने, ‘ऐनको मस्यौदाले विदेशमा नेपालीलाई लगानी गर्ने कानुनी ढोका खोलिदिएको छ । अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस गरेपछि त्यसलाई संसद्मा लगेर पारित गर्नुपर्ने हुन्छ । यो ऐन लागू भएमा विदेशमा लगानी गर्न प्रतिबन्ध गर्ने ऐन खारेज हुन्छ ।’

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध गर्ने ऐन, २०२१ लाई खारेज गरी समयानुकूल परिमार्जन गरी नयाँ विदेशी विनिमय (नियमित तथा व्यवस्थित गर्ने) कानुनको निर्माण गर्न लागिएको हो । हाल विदेशमा लगानी गर्न प्रतिबन्ध गर्ने ऐन, २०२१ ले विदेशी धितोपत्र, विदेशी फर्मको साझेदारी, विदेशी बैंक खाता, विदेशस्थित घरजग्गालगायतका कुनै किसिमका क्षेत्रमा लगानी गर्न नपाउने व्यवस्था गरेको छ ।

यसबाट के हुन्छ उपलब्धि ?
सरकारले स्वीकृत गरेको अवधारणापत्रअनुसार नयाँ ऐन बनेपछि विदेशी विनिमय सञ्चिति संरक्षण, विदेशी मुद्रा, धितोपत्र, सुनचाँदी र बुलियन कारोबारलाई प्रभावकारी ढंगले व्यवस्थापन, नियमन तथा नियन्त्रण गर्न सकिने बताइएको छ । यसमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नयाँ कानुन निर्माण प्रक्रियामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री, अर्थ सचिव, राजस्व सचिव, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा तथा कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख निकायका रूपमा रहने अवधारणापत्रमा उल्लेख छ । साथै, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०६४ बमोजिम सरोकारवाला मन्त्रालय वा निकायसँग आवश्यक राय, परामर्श र सहमति लिइने भनिएको छ ।

चालू आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा लगानी गर्न अनुमति दिने घोषणा गरेका थिए । बजेट वक्तव्यमा भनिएको छ, ‘निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने कानुनी व्यवस्था गरिनेछ । यस्तो व्यवसायबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिनेछ । विदेशमा गरिने लगानी स्वीकृतिको जिम्मेवारी लगानी बोर्डमा रहने व्यवस्था गरिनेछ ।’ त्यसका निम्ति लगानी बोर्डको संस्थागत क्षमता विकास गर्ने बजेट वक्तव्यमा पनि उल्लेख छ ।

वित्तीय क्षेत्र विकास रणनीति (०७३÷७४–०७७÷७८) को कार्ययोजनामा पनि विदेशी विनिमय व्यवस्थापन गर्ने ऐन ल्याउने उल्लेख गरिएको थियो । त्यस्तै, आर्थिक वर्ष ०८१÷८२ को बजेटको बुँदा नम्बर १७६ मा पनि वित्तीय क्षेत्रसँग सम्बन्धित कानुनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार संशोधन र निर्माण गर्ने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकको रणनीतिक योजना सन् २०२२–२०२६ अन्तर्गत पनि विदेशी विनिमयसम्बन्धी ऐनलाई पुनरावलोकन गरी समयानुकूल संशोधन गर्नुपर्ने उल्लेख छ । यी सबै आधारमा सरकारले नयाँ ऐन ल्याउने तयारी गरेको हो ।

विदेशी विनिमय व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय अभ्यासलाई समेत आधार बनाइएको छ । भारतमा विदेशी विनिमय व्यवस्थापन ऐन, १९९९, बंगलादेश र पाकिस्तानमा विदेशी विनिमय नियमन ऐन, १९४७, श्रीलंकामा विनिमय नियन्त्रण ऐन, १९५३, अमेरिकामा वित्तीय सेवा नियमन सहुलियत ऐन, २००६ र कमोडिटी फ्युचर्स मोडर्नाइजेसन एक्ट, २०००, जापानमा विदेशी विनिमय तथा वैदेशिक व्यापार ऐन, १९४९ र फ्रान्समा मौद्रिक तथा वित्तीय संहिता, २००५ लागू छन् । नेपालले पनि यस्ता कानुनी संरचनाबाट सन्दर्भ लिने तयारी गरेको छ ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिले पनि विदेशी विनिमय ऐन, २०१९ र विदेशमा लगानी प्रतिबन्ध ऐन, २०२१ खारेज गरी नयाँ समसामयिक कानुन ल्याउन सिफारिस गरिसकेको छ । उक्त नीति निर्माण प्रक्रियामा मिश्रित विधि अवलम्बन गरिने अवधारणापत्रमा उल्लेख छ । नयाँ कानुन कार्यान्वयन गर्दा सरकारलाई प्रत्यक्ष आर्थिक व्ययभार नपर्ने बताइएको छ । यसका लागि थप संरचना पनि आवश्यक नपर्ने जनाइएको छ ।

1

Scroll to Top