गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण हेर्दा राष्ट्रिय स्तरका विकास बैंकमध्ये अधिकांश लाभांश वितरण गर्न सक्ने अवस्थामा रहेको देखिएको छ ।
राष्ट्रियस्तरका आठ विकास बैंकमध्ये ज्योति विकास बैंकको मात्र वितरणयोग्य मुनाफा ऋणात्मक छ । ज्योतिको वितरणयोग्य मुनाफा गत असार मसान्तसम्ममा ७८ करोड ४ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको वित्तीय विवरणले देखाउँछ । वितरणयोग्य मुनाफा ऋणात्मक रहेको यस कम्पनी गतवर्षको चौथो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँभन्दा बढी खुद नाफामा छ । अघिल्लो वर्ष १७ करोड ५ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको ज्योतिको उक्त नाफा गतवर्ष करीब ९३ प्रतिशत कम भएको हो । अघिल्लो वर्ष इम्पेरमेन्ट चार्जबापत १ अर्ब १३ करोड रुपैयाँभन्दा बढी रकम व्यवस्था गरेको कम्पनीले गतवर्ष यो शीर्षकमा १ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रकम छुट्ट्याएको छ ।
खुद ब्याज आम्दानी अघिल्लो वर्ष २ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रहेकोमा गतवर्ष २ अर्ब ९ करोड रुपैयाँभन्दा बढी मात्र छ । ज्योतिले आर्थिक वर्ष (आव) २०७८/७९ पछि लाभांश वितरण गरेको छैन । उसले आव २०७७/७८ को मुनाफाबाट हालसम्मकै सर्वाधिक १५ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७८/७९ मा भने कम्पनीले ६ दशमलव ८ प्रतिशत लाभांश वितरण गरेको थियो, जुन कम्पनीले वितरण गरेकोमध्ये सबैभन्दा कम थियो । वितरणयोग्य मुनाफा ऋणात्मक भए पनि कम्पनीले जगेडा कोषको रकमबाट लाभांश वितरण गर्न सक्नेछ । गतवर्षको अन्त्यसम्म कम्पनीको जगेडा कोषमा २ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी छ । ज्योति बाहेक बाँकी सबै विकास बैंक लाभांश वितरण गर्न सक्ने अवस्थामा छन् ।
वितरणयोग्य नाफामा रहेका राष्ट्रिय स्तरका सात विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकको लाभांश क्षमता सबैभन्दा बढी छ । यसको लाभांश वितरण क्षमता २० दशमलव ७५ प्रतिशतसम्म छ । मुक्तिनाथले गतवर्ष लगानीकर्ताको हात खाली बनाएको थियो । आव २०७९/८० मा कम्पनीले ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
राष्ट्रिय स्तरका विकास बैंकहरूमध्ये लुम्बिनी विकास बैंकको लाभांश क्षमता सबैभन्दा कम ८ दशमलव १३ प्रतिशत छ । त्यस्तै कामना सेवा विकास बैंकको १७ दशमलव ३० प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३ दशमलव ९६ प्रतिशत, गरिमा विकास बैंकको १२ दशमलव ५९ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ११ दशमलव शून्य ६४ प्रतिशत र महालक्ष्मी विकास बैंकको ११ दशमलव ५१ प्रतिशत लाभांश क्षमता छ ।
कम्पनीहरूसँग लाभांश वितरण गर्ने क्षमता भए पनि वितरण नगर्न सक्छन् । कतिपय कम्पनीले कुनै वर्ष मुनाफा सञ्चित गरी अर्को वर्ष आकर्षक लाभांश वितरण गर्ने रणनीति पनि लिन्छन् । वितरणयोग्य नाफा भने शेयरधनीहरूलाई वितरण गर्नकै निम्ति प्रयोग गरिन्छ । यसबाहेक कम्पनीहरूले जगेडा कोषमा सञ्चित गरेको रकमसमेत लाभांश वितरणका निम्ति प्रयोग गर्न सक्छन् ।


