नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशमा गरी दैनिक साढे नौ सय मेगावाटको हाराहारी बिजुली बेच्न थालेको छ। आन्तरिक खपतबाट बचेको बिजुली अन्तर्राष्ट्रिय बजारमा बेचेर प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै १७ अर्ब ४६ करोड रुपैयाँको आम्दानी गरेको छ।
प्राधिकरणले भारतमा ११ सय २५ मेगावाट र बंगलादेशमा ४० मेगावाट गरी कुल ११ सय ६५ मेगावाट बिजुली बेच्ने अनुमति पाएको छ। हाल भारततर्फ औसतमा नौ सय मेगावाट र बंगलादेशमा ४० मेगावाट गरी दैनिक करिब ९ सय ५० मेगावाट बिजुली निर्यात भइरहेको छ।
भारतमा दुई तरिकाले बिजुली बिक्री भइरहेको छ। पहिलो, भारतीय ऊर्जा बजार (आईईएक्स) मार्फत ५ सय २१.७ मेगावाट र दोस्रो, मध्यमकालीन सम्झौतामार्फत ६ सय ३.३७ मेगावाट। मध्यमकालीन सम्झौताअन्तर्गत वर्षायाममा प्रति युनिट ८ रुपैयाँ ४० पैसामा बिजुली बिक्री गरिन्छ।
बंगलादेशमा भने ढल्केबर-मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन हुँदै भारतीय बाटो भएर नेपाली बिजुली निर्यात हुन्छ। यहाँ प्राधिकरणले प्रति युनिट ६.४० अमेरिकी सेन्टमा बिजुली बेचिरहेको छ।
हाल नेपालको कुल विद्युत् जडित क्षमता ३,८७८ मेगावाट पुगेको छ। तर, पूर्ण क्षमतामा उत्पादन र निर्यात गर्न नसक्दा प्राधिकरणले अझै पनि चुनौती सामना गरिरहेको छ। सरकारले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखे पनि ‘टेक एण्ड पे’ नीतिमा संशोधन नहुँदा नयाँ विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) ठप्प छ, जसले भविष्यको ऊर्जा विकासमा बाधा पुग्न सक्ने देखिएको छ।


