Banijya News

संरचना पुनर्निर्माण र निर्वाचन खर्चको दोहोरो दबाबमा नयाँ सरकार

1
1.2K Shares

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटले खर्बौं रुपैयाँ बराबरको भौतिक संरचना ध्वस्त बनाइदिएपछि नवगठित सरकार गम्भीर पुनर्निर्माणको चुनौतीमा परेको छ। आगामी फागुनमा हुने संघीय निर्वाचनको तयारीसँगै सरकारले खर्बौं रुपैयाँ स्रोत जुटाउनु पर्ने बाध्यता देखिएको हो।

आन्दोलनमा संसद् भवन, सिंहदरबार, राष्ट्रपति निवास, सर्वोच्च अदालत लगायत प्रमुख सरकारी कार्यालयहरूमा क्षति पुगेको छ। नेपाल प्रहरीका अधिकांश कार्यालय, सवारीसाधन र अन्य सरकारी सम्पत्तिहरू पनि आगजनीमा परेका छन्। यति ठूलो क्षति भएको अवस्थामा सरकारको दैनिक प्रशासनिक कार्यसमेत प्रभावित हुने देखिएको छ।

सरकारले आगामी फागुन २१ गते संघीय निर्वाचन गराउने तयारी गरेको छ। निर्वाचन आयोगका अनुसार यसपटक केवल संघीय निर्वाचन हुने भएकाले खर्च अघिल्ला संघ–प्रदेश निर्वाचनभन्दा केही कम हुनसक्ने अनुमान छ। तथापि, प्रारम्भिक अनुमानमा मात्रै निर्वाचनका लागि करिब २० अर्ब रुपैयाँ खर्च लाग्ने देखिएको छ।

यसैबीच अर्थ मन्त्रालय स्रोत जुटाउने विषयमा गम्भीर छलफलमा जुटेको छ। मन्त्रालयका अनुसार तोडफोड र आगजनीका कारण दैनिक राजस्व संकलन प्रणालीमा अवरोध आएको छ। आन्तरिक राजस्व र भन्सार कार्यालयहरूमा व्यापक क्षति पुगेको छ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार आन्दोलनका क्रममा १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ वटा भन्सार कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएका छन्। साथै १५ वटा सरकारी गाडी र ४० वटा मोटरसाइकल पनि जलेर नष्ट भएका छन्।

मुख्य बजेट महाशाखाको एउटा भवन पनि पूर्ण रूपमा नष्ट भएको मन्त्रालयले जनाएको छ। यद्यपि, राजस्व संकलनको अनलाइन प्रणाली सुरक्षित रहेकाले आंशिक रूपमा काम भने चलिरहेको छ।

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको छ। यसमध्ये १४ खर्ब ८० अर्ब राजस्वबाट उठाउने लक्ष्य लिइएको हो। तर चालु वर्षको साउनदेखि भदौ २७ सम्ममा केवल १ खर्ब ४६ अर्ब रुपैयाँ मात्र आम्दानी भएको छ।

आन्दोलनबाट भएको क्षतिको कारण राज्यको आम्दानी लक्ष्यमा गम्भीर असर पर्ने देखिएको छ। एक अर्थ अधिकारीका अनुसार बजेटको “विविध शीर्षक”मा राखिएको आकस्मिक खर्चबाट केही हदसम्म व्यवस्थापन गर्ने प्रयास हुनेछ, तर त्यो पर्याप्त नहुन सक्ने खतरा पनि छ।

जेनजी आन्दोलनका क्रममा देशभरका करिब दुई दर्जन होटलमा करिब २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको होटल संघ नेपालले जनाएको छ। संघका अनुसार काठमाडौंको हिल्टन होटलमा मात्र ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ।

पोखरा, बुटवल, विराटनगर, धनगढी, महोत्तरी, दाङलगायत स्थानका होटलमा आगजनी र तोडफोडका कारण होटल सेवा पूर्ण रूपमा अवरुद्ध छन्। संघका अनुसार करिब २ हजारभन्दा बढी होटलकर्मीको रोजगारी संकटमा परेको छ।

होटल संघले सरकारसँग विशेष आर्थिक राहत प्याकेज ल्याउन आग्रह गरेको छ, जसले पर्यटन क्षेत्रको पुनरुत्थान र लगानीकर्ताको मनोबल कायम राख्न सघाउ पुर्‍याउने विश्वास संघले व्यक्त गरेको छ।

आर्थिक क्षतिको वर्तमान अवस्था हेर्दा पुनर्निर्माणका लागि वैदेशिक सहयोगको आवश्यकता देखिए पनि दातृ निकायबाट सहयोग प्राप्त हुने सम्भावना न्यून रहेको अर्थ मन्त्रालयको आन्तरिक मूल्यांकन छ।

आन्दोलनबाट राष्ट्रलाई लागेको यो आर्थिक घाउलाई सामान्य अवस्थामा फर्काउन सरकारसँग अब सीमित समय र स्रोत मात्र बाँकी छ।

1

Scroll to Top