भ्रष्टाचारविरुद्ध जेनजी (सन् १९९७ देखि २०१२ सम्म जन्मेका व्यक्तिहरू) ले गरेको आन्दोलनका कारण सार्वजनिक यातायातमा करिब २४ करोड रुपैयाँ बराबरको नोक्सान भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।
महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार, आन्दोलन र त्यसपछिको परिस्थितिका कारण काठमाडौं उपत्यकामा ६ दिनसम्म सार्वजनिक सवारीसाधन ठप्प हुँदा दैनिक ४ करोडका दरले कुल २४ करोड रुपैयाँको क्षति भएको हो।
आन्दोलनले उत्पन्न गरेको अव्यवस्थित अवस्थालाई ध्यानमा राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यात्रु व्यवस्थापनलाई सहज बनाउन ६ बुँदे निर्णय गरेको छ। मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले चाडपर्वमा यात्रुको आवागमन सुनिश्चित गर्न नेपाल यातायात व्यवसायी महासंघलगायत सरोकारवालासँग सहकार्य गर्ने निर्णय गरेको छ।
बैठकले आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन र कार्यालयहरूको मर्मत प्रक्रियालाई तीव्रता दिने, यातायात सुरक्षासम्बन्धी अनुगमन बढाउने र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने लगायतका निर्णयहरू पनि गरेको छ।
जेनजी आन्दोलनले यातायात व्यवस्था विभागको संरचनामा पनि गम्भीर क्षति पुर्याएको छ। विभागका अनुसार, आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका कारण विद्युतीय उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेको छ।
विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ र वितरण अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरेको छ। यो निर्णयले लाइसेन्स प्राप्त गर्ने प्रक्रियामा रहेका हजारौं सेवाग्राही प्रभावित भएका छन्।


