सरकारले इन्टरनेशनल कार्ड नेटवर्कबाट राजस्व भुक्तानीको शुरूआत गरेको छ । बिहीबार अर्थमन्त्री डा. रामेश्वर प्रसाद खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रूपमा राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर-आबद्धताको शुरूआत गरेका हुन् ।
राजस्व व्यवस्थापन सूचना प्रणालीको अन्तर-आबद्धता शुरू भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकका लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाहलाई पेपरलेस, फेसलेस बनाउनुका साथै चौबिसै घण्टा सातै दिन सेवा प्रवाह सुनिश्चित हुने जनाइएको छ ।
यसका साथै राजस्व संकलन द्रूत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुनगई डिजिटल इकोनोमीको प्रबर्द्धनमा टेवा पुग्ने अपेक्षा लिइएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
यस भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिसा कर्जा, अलिपे लगायतका अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कमाआबद्ध कार्डमार्फत् अध्यागमन विभागद्वारा निर्धारित सेवा प्राप्त हुनेछ । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतबाट प्रवेश गर्ने पर्यटकहरूले सहज रूपमा यो सेवा लिन सक्नेछन् ।
यो सेवा हाललाई अध्यागमन विभाग र अन्तर्गतका निकायबाट प्रवाह हुने अध्यागमन सम्बन्धी राजस्व भुक्तानीमा शुरूआत भएता पनि आगामी दिनमा सरकारका अन्य निकायमा पनि विस्तार हुँदै जाने जनाइएको छ ।


